शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

निसीखोला- २ मा शिक्षकहरुको पेशागत क्षमता बढाउन ३ दिने कार्यशाला तालिम

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका वडा नं. २ मा अध्यापन गराउने शिक्षकको क्षमता अभिवृद्धि गर्न शिक्षक कार्यशाला सहित तालिम संचालन भएको छ ।

निसीखोला गाउँपालिका र कर्मा फलाईट फाउन्डेशन नेपालको आयोजनामा तिन दिने शिक्षक तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन भएको हो । निसीखोला-२ का वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि घर्तिले समाज परिवर्तनको लागि जनप्रतिनिधी र शिक्षकको उत्तिकै भुमिका रहेको बताउनु भएको छ । प्रतिनिधी र शिक्षकले चाहे समाजमा सकारात्मक प्रभाव पार्न सक्ने र परिवर्तन सम्भव हुने बताउनु भयो ।

 

उद्घाटन सत्रको समापन गर्दै वडा अध्यक्ष विश्वकर्माले शिक्षकको विकासको लागि गत वर्षदेखि तालिम संचालन गर्दै आएको बताउनु भएको छ । आफु पनि विगत १० वर्ष शिक्षण पेशामा रहेकोले शिक्षा क्षेत्रको विकास नै आफ्नो संकल्प रहेको र सोही अनुसार शिक्षा क्षेत्रमा नयाँ नयाँ आयाम ल्याउने उहाँले बताउनु भयो । विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तर सुधारमा शिक्षकको अहम् भूमिका रहने बताउनु भयो । वडाका शिक्षक अरू भन्दा क्षमतावान हुनुपर्नेमा जोड दिनुभयो ।

३ दिनसम्म आयोजना हुने तालिममा निसीखोला-२ मा पढाइरहेका शिक्षकलाई वर्तमान अवस्थाको शिक्षण विधि, शिक्षकको व्यवहार सम्बन्धी कार्यशालासहितको तालिम सञ्चालन गर्ने आयोजकले जनाएको छ । तालिम बिहान १० बजेदेखि ४ बजेसम्म रत्न राज्य लक्ष्मी माविको हलमा सञ्चालन भएको छ । तालिमलाई केपिजेड युनिभरसिटी, थिओल फाउन्डेशन र रेडिएन्ट स्कुल ग्रुप, एनएलले सपोर्ट गरेको छ ।

लामो समय अध्ययन तथा अनुसन्धान क्षेत्रमा क्रियाशील प्रशिक्षकहरुको कार्यशालाले शिक्षकहरुलाई नयाँ शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी रहने अपेक्षा गरेको छ । तालिममा वडाका प्रत्येक विद्यालयबाट ५/५ जना शिक्षकको सहभागिता रहेको थियो ।