शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

जिल्ला अस्पताल अर्घाखाँचीको अत्याधुनिक सुविधासहित ५० शय्याको भवन बन्ने

सुर्य प्रसाद भुसाल,अर्घाखाँची। 
अत्यन्तै पुरानो जीर्ण भवनबाट सेवा दिइरहेको जिल्ला अस्पताल अर्घाखाँचीको स्वरुप फेरिने भएको छ । जिल्ला अस्पतालको नयाँ भवन अब अत्याधुनिक सुविधासहित ५० शय्याको निर्माण हुन लागेको हो ।

करिब ४८ करोड रुपैयाँ लागतमा तयार हुने आधुनिक भवनको निर्माण कार्य शुरु गर्नका लागि नक्सा बनाउने सम्बन्धित सरोकारवालासँग छलफल गर्नेजस्ता कामहरु पूरा गरी अब टेन्डर निकाल्ने तयारी गरिएको संघीय आयोजना कार्यान्वयन इकाइ सिद्धार्थनगर रुपन्देहीका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

पन्थीका अनुसार मास्टरप्लान बनाएर दुई चरणमा अस्पतालको भवन निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार पहिलो चरणमा मुख्य अस्पताल, सीएससी भवन, क्यन्टिन र प्रशासनिक भवनसहित चार वटा अलग अलग भवन तयार गर्ने गरी नक्सा तयार भएको छ।

पहिलो चरणमा पार्किङसहितको ल्याण्ड स्केपिङ, फोहोरमैला व्यवस्थापनसहितको अस्पताल भवन बन्ने छ भने दोस्रो चरणमा कर्मचारीहरुको आवासलगायतका अन्य भवनहरु बन्नेछ । तर हाल पहिलो चरणको निर्माण कार्य मात्र संघीय सरकारले अगाडि बढाउन लागेको आयोजना प्रमुख पन्थीको भनाइ छ ।

भवन बनाउनका लागि अस्पताल प्रशासनसँग छलफल गरी प्राप्त सुझाव समावेश गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सीएलपीआईयुअन्तर्गत यसको बजेट संघीय सरकारको हुने र प्राविधिक पाटो एफपीआईयु रुपन्देहीले निर्वाह गर्ने उपसचिव इन्जिनियर पन्थीले बताए । तीन वर्ष अर्थात २०८४ असोज मसान्तसम्म भवन तयार भएर हस्तान्तरण हुनेसमेत आयोजना प्रमुख पन्थीले दाबी गरे ।

लामो समयसम्म १५ शय्याको मात्र रहेको जिल्ला अस्पताल अर्घाखाँची अहिले ५० शय्यामा स्तरोन्नति भएको र ५० शय्याका लागि आवश्यक जनशक्ति र उपकरण राख्न भवन नभएको गुनासो धेरै आउन थालेपछि सरोकारवालाले पहल गरेपछि अस्पतालको आधुनिक भवन निर्माण हुने भएको हो । भवन निर्माण भएपछि जनशक्ति र उपकरणसमेत थप हुनेछ ।

अस्पतालमा बिरामी राख्ने ठाउँ नहुँदा उपचारमा निकै समस्या हुने गरेको थियो । अब नयाँ भवन निर्माण भएपछि बिरामीसँगै आफूहरुलाई पनि सेवा प्रवाहमा सहजता आउने जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

आयोजना कार्यान्वयन इकाइ प्रमुखको रुपमा आएका कार्यालय प्रमुख उपसचिव इन्जिनियर पन्थी बुटवल सभाहल निर्माणलगायत गुणस्तरीय काम गराउन सफल विवाद रहित इन्जिनियर हुन् ।