शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका वडा नं. ९ को वर्तमान अवस्था

गणेश बेल्बासे संगम, राताे प्रेस डटकम ।

पृष्ठभुमी

लुम्बिनी प्रदेशमा पर्ने जिल्लाहरु मध्येको एउटा जिल्ला हो, अर्घाखाँची । यस जिल्लामा थुप्रै धार्मिक, ऐतिहासिक एवं पर्यटकिय स्थलहरु रहेका छन । प्राकृतिक एवं जैविक विविधताले समेत भरीपुर्ण यस जिल्लालाई संघिय संरचनापछि ६ वटा स्थानिय तहमा विभाजन गरीएको छ । ति मध्येको एउटा स्थानिय तह हो शितगंगा नगरपालिका । यो नगरपालिका भौगोलिक बनोटको हिसाबले देशकै ठुलो नगरपालिका रहेको छ ।

वडाकाे परिचय

अर्घाखाँची जिल्लाको ७ वटा गाविसहरुलाई समायोजन गरी बनेको यस शितगंगा नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । साविकको ७ वटा गाविसहरु मध्येको सिद्घारा गाविसलाई हाल ३ वडामा विभाजन गरीएको छ । ति मध्येको वडा नम्बर ९ कृषि, धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा थुप्रै सम्भावना बोकेको छ । वडामा प्रसस्त कृषि योग्य उर्वर भुमिका फाँटहरु रहेका छन ।

वडा नं. ९ को उत्तरमा शितगंगाको वडा नम्बर ७, दक्षिणमा शितगंगाको वडा नम्बर ११ र दाङ जिल्ला, पुर्वमा शिगंगागाको वडा नम्बर १० र ११, पश्चिममा शिगंगागाको वडा नम्बर ८ र दागं जिल्ला पर्दछ । यो वडा ११८.७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नगर पाश्र्व चित्र २०७६ को गणना अनुसार ३०८४ जनसंख्या रहेको यस वडामा ६४२ घरधुरी संख्या रहेको छ । यस वडाको कार्यालय करमगैरा र लौरी गरी दुई स्थानमा स्थापना गरी जनतालाई सेवा प्रदान गरी रहेको छ ।

यस वडामा विभिन्न जातजातीहरूकाे बसाेबास रहेकाे छ । वडामा मगर, गुरूङ, दलित, ब्राहमण, क्षेत्री लगाएतका जातजातीहरूकाे बसाेबास रहेकाे छ । जसमा जनजातीकाे बाहुल्यता रहेकाे छ ।

नयाँबस्ती, रागाँकाटे, गंगटे, मिठेआँप, कालधारे, ठाडाखोला, लामिदमार, पाँकुरी, सिस्ने, सिलिंखोला, लौरी, सिधारा, बसेनी, कानाचौर लगाएतका गाँउटोल रहेका छन । प्राकृतिक रुपमा सुन्दर यो वडा धार्मिक एवं पर्यटकिय महत्व बोकेका स्थलहरु रहेका छन । जसले गर्दा पनि यो वडामा विकास र समृद्धिका थुप्रै संभावनाहरु रहेका छन ।

जन प्रतिनिधी विहिन हुदाँ विकास निर्माणले गति लीन सकेको थिएन । अत्यावश्यक विकासका पुर्वाधारहरुको अपेक्षित रुपमा आधारभुत सेवासम्म नपाउदा स्थानिय बासिन्दाको जिवनस्तर निकै कष्टकर बनेको थियो । पुर्न संरचना पछि सम्पन्न स्थानिय तहको चुनाव भयो र स्थानिय नागरिकहरुले नयाँ जन प्रतिनिधी चुन्ने मौका पाए । सामाजिक एवं विकास निर्माणको कार्यमा सकृय व्यक्ति जन प्रतिनीधिका रुपमा निर्वाचित भएर आए पश्चात विकास निर्माणले गति लिन सुरु गरेको छ ।

वडालाई समृद्ध बनाउन सिंगो वडा परिवार एकताबद्ध रुपमा अगाडी बढि रहेका छ । वडाको सामाजिक तथा आर्थिक विकासको लागि वडाले हरेक विकास निर्माणका योजनामा विभिन्न पार्टी, संघ संस्था, समाजसेवी, बुद्धिजिवी एवं स्थानिय उपभोत्ताहरुको सहभागीतामा योजनाहरु अगाडी बढाई रहेको छ ।

धार्मिक एवं पर्यटकिय क्षेत्र

विभिन्न जातजातिहरुको बसोबास रहेको यो वडामा धार्मिक एवं पर्यटकिय महत्व बोकेका क्षेत्रहरु रहेका छन । त्यस मध्येको एउटा क्षेत्र हो बराहा दह । अर्घाखाँची जिल्लामै गोही पाईने एक मात्र रहेको यस दहले छुट्टै धार्मिक एवं साँस्कृतिक महत्व बोकेको छ । यस दहले जनताहरुको धर्म सँस्कृति प्रतिको आस्था र भावनालाई उजागर गरेको छ ।
यहाँ बराहा मन्दिर रहेको छ । यहाँ पुजा गर्न आउने भक्तजनहरुको संख्या बढ्दो छ । यस दहमा स्नान गरी भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वास रही आएको छ । यस क्षेत्रको प्रचारप्रसारको लागि प्रत्येक बर्ष माघे संक्रान्तिको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरीदै आएको छ । यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरीक एवं बाह्य पर्यटकहरुलाई भित्राउन सकिने सम्भावना रहेको छ ।

त्यसतै यस वडाको विसमुरेमा रहेको शिवशक्ति महादेव गुफा अर्को महत्वपुर्ण धार्मिक स्थल हो । यस गुफामा प्रत्येक बर्षको महाशिव रात्रीका दिन मेला लाग्ने गर्दछ । यस गुफाले पनि छुट्टै धार्मिक महत्व बोकेको छ ।
यस वडामा धार्मिक महत्व बोकेका शिव मन्दिर, दुर्गा मन्दिर, सुपा देउराली मन्दिर लगाएतका थुप्रै मन्दिरहरु रहेका छन । ति मन्दिरहरुमा स्थानिय क्षेत्रका मानिसहरुले आजापुजा गर्ने गर्दछन । नेपालीहरुको मुख्य चाड वडा दशैँ, तिहार, शिवरात्री, चैते दशैँ लगाएतका विशेष अवसरमा यहाँका मठ मन्दिरहरुमा विशेष पुजा सहित विभिन्न देविदेवताको पुजा गरिन्छ ।

यस क्षेत्रका आ आफ्नो चलन परम्परा अनुसार गरिने पुजा आजा र विश्वासले यस क्षेत्रको झनै महत्व बोकेको छ । जसले धर्म तथा परम्परालाई जोगाई स्थानिय बासीको आस्था र विश्वासलाई समेत जोडेको छ ।

कृषि क्षेत्र

वडालाई कृषि क्षेत्रका रुपमा विकास गर्नका लागि केरा पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । विभिन्न कार्यक्रमहरु संचालन गरी वडाले किसानहरुको मागको आधारमा कृषि सामग्रीहरु प्रदान गर्दै आएको छ । वडाले सञ्चालन गरेका कार्यक्रमहरुले किसानलाई थप कृषि पेशामा लाग्न हौसला दिएको छ । उत्पादनको आधारमा वितरण गरीने कार्यक्रमलाई सफल बनाउन वडाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ९ मा व्यवसायिक कृषि तथा पशुपालनबाट किसानहरुले राम्रो आम्दानी लिन सुरु गरेका छन । स्थानिय तहबाट अनुदान मिल्न थालेपछि किसानहरुले कृषि तथा पशुपालन गर्न सुरु गरेका हुन् । कृषि क्षेत्रमा थोरै लगानी र परिश्रमबाट राम्रो आम्दानी हुन सुरु भएपछि किसानहरुको आकर्षण बढ्दो रहेको छ । जसले गर्दा वडाका किसानहरु आत्मनिर्भर बनेका छन ।

शिक्षा

समाजको विकासको लागि शिक्षाको महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यसैले यस वडाको पाँकुरीमा रहेको पाँकुरी माध्यमिक विद्यालयलाई शैक्षिक धरोहरको रुपमा विकास गरीएको छ । वडामा शंकर ज्योती आधारभुत विद्यालय लौरी, जनता आधारभुत विद्यालय नयाँबस्ती, बाल आधारभुत विद्यालय ठाडाखोला, पशुपति आधारभूत विद्यालय सिलिगंखोला, तुल्सी आधारभूत विद्यालय कात्तिके, शान्ति आधारभूत विद्यालय छहरे, सगरमाथा आधारभूत विद्यालय बसेनी, हशंबाहिनी आधारभूत विद्यालय कानाचौर रहेका छन ।

समुदायमा रहेका बालबालिकाहरुको पहुँचका साथै उनीहरुलाई गुणस्तरिय शिक्षाको लागि जनप्रतिनिधी, शिक्षक, अभिभावक, वि.व्य.स., शि.अ.स. तथा सरोकारवालाहरु सकृय रुपमा लागि रहेका छन् । अतिरिक्त ज्ञान सीप प्रदानको लागि पाँकुरी माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको समेत व्यवस्था गरी विद्यार्थीहरु लाई सुचना प्रविधिसँग जोड्ने कार्य भइरहेको छ ।

त्यस्तै विद्यालयमा सोलार प्यानल जडानको काम पनि भईरहेको छ । जसबाट कम्प्युटर तथा इन्टरनेटको पहुँचको लागि पहल भईरहेको छ । वडामा रहेका करिब सबै विद्यालयमा सुविधा सम्पन्न भवन तथा शौचालयहरुको पुन निमार्णको कार्य सम्पन्न भएको छ भने केही विद्यालयहरुको भवन निमार्णको योजना अगाडी बढाइएको छ ।

स्वास्थ्य ईकाइ वा स्वास्थ्य चौकीहरु

यस वडाको लामीदमारमा सामुदायिक स्वास्थ्य ईकाई केन्द्र रहेको छ भने लौरीमा एउटा सामुदायिक स्वास्थ्य केन्द्र रहेको छ । त्यस्तै सिलीगंखोलामा शहरी स्वास्थ्य केन्द्र रहेको छ । सामान्य रोगको उपचारको लागि पनि अर्को जिल्लामा जानुपर्ने बाध्यतालाई यि स्वास्थ्य केन्द्र तथा स्वास्थ्य ईकाइले हटाउँदै गइरहेका छन ।

स्थानिय स्तरमा सहज र सुलभ तरिकाबाट विरामीहरुले उपचार गर्न गराउन पाउने अवस्थाको सिर्जना गर्न वडाले विशेष पहल गर्दै आइरहेको छ । त्यसैले नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा संचालन गरीएको छ । एम्बुलेन्स सेवा मार्फत जनताले सहजरुपमा सेवामा पाई रहेका छन ।

सडक तथा पुल

वडाले प्रत्येक गाँउ टोललाई जोड्ने कृषि सडक सञ्जालको निर्माणलाई तिब्रता दिएको छ । सडकको पहुँच पुग्न नसकेका टोलहरुमा सडकका कामले तिब्रता पाएको छ भने बनिसकेका सडकहरुको स्तर उन्नतिको कार्य अगाडी बढेको छ । मुख्य सडकको रुपमा चक्ला–धानखोला सडक र चक्ला–भालुवागं जोडने सडकको स्तरोन्नतीको कार्यलाई तिब्र रुपमा अगाडी बढाइएको छ । वडामा रहेका मुख्य सडकहरुमा बारैमास सवारीसाधन संचालन गर्न सहजताको लागि कलवर्ट, नाली, कजवे, ग्राबेल गर्ने कार्य अगाडी बढाइएको छ ।


त्यस्तै रंसिगंखोला, सिलिगंखोला, मथुराखोला, ठाडाखोला लगाएतका खोला तथा नदिहरुमा झोलंगे पुल निर्माण भएका छन । निर्माण भएका सडक तथा पुलहरुले गर्दा बारैमास आवतजावत गर्न पाएका छन भने स्थानिय स्तरमा उत्पादन भएका कृषि उपजलाई बजार सम्म पुराउन मद्धत पुगेको छ ।

खानेपानी र सिँचाई

निर्वाचित भएर आएका जन प्रतिनिधीहरुले घरघरमा खानेपानी पुराउन योजनाहरु अगाडी बढेका छन । लौरी र पाँकुरीमा लिफ्टिगं खानेपानी योजना सम्पन्न भएको छ । त्यस्तै वडाका सबै टोलहरुमा खानेपानीको पहुँचको लागि योजनाहरु अगाडी बढेका छन । मुहान संरक्षणको काम पनि अगाडी बढेको छ भने पाईप मार्फत मुहानदेखी टोलसम्म खानेपानी पुराईएको छ ।

सिँचाईको लागि नयाँवस्तीमा करोडौँको योजना अगाडी बढेको छ । त्यस्तै गंगटेखोलामा पनि सिँचाईको लागि नहरको कार्य सम्पन्न भएको छ । त्यस्तै खारगाट, सिस्नेमा पनि सिचाइको लागि पक्की कुलो निर्माणको काम पनि संचालन भइरहेको छ । जनप्रतिनीधिहरु आए पछि विभिन्न विकास निर्माणका कामले क्रमश प्राथमिकता पाउँदै आएका छन । भौगोलिक बनोटका आधार, सामाजिक, आर्थिक रुपले पिछडिएका वर्ग समुदायहरुको हितलाई मध्यनजर गर्दै दिगो रुपमा कार्यक्रमहरु संचालन गरी वडालाई नमुना वडाको रुपमा विकास गर्ने लक्ष्य लिएको  छ ।

विधुत

वडामा रहेका नयाँवस्ती, गंगटे, मिठेआँप, सिद्धारा गाँउटोलमा विधुतको काम सम्पन्न भएको छ । भने वडाका सबै टोलहरुमा विधुतको पहुच पराउन विधुतिकरणको काम अगाडी बढेको छ ।

सुरक्षा

वडाका नागरीकलाई सुरक्षाको प्रत्याभुती गराउन सिद्धारामा इलाका प्रहरी कार्यालय रहेको छ । यो इलाका प्रहरी कार्यालय सिद्धारामा नागरीकहरुको सुरक्षामा अहोरात्र खटेको छ ।

सिपमुलक तालिम

खेतबारी, घाँसपात र चुलोचौकोमा व्यस्त बन्दै आएका महिलाहरु लाई सीपमुलक तालिमको व्यवस्था गरी उनीहरु लाई सक्षम र आत्मनिर्भर बनाउनुको साथै न्यायको सहज पहुँचको लागि वडाले विभिन्न तालिमहरु संचालन गरी रहेको छ । महिलाहरुलाई सिलाई कटाई, कृषि तथा पशुपालन सम्बन्धी तालिम, महिला शसक्तिकरण, चेतनामुलक लगाएतका सिपमुलक तालिम संचालन गर्दै आएको छ ।

सामुदायिक वन

यो वडाको प्राकृतिक वातावरण एवं जैविक विविधतालाई संरक्षण गर्न यहाँका सामुदायिक वन सकृय रहेका छन् । प्रचुर संभावना रहेका यहाँका वन क्षेत्रको विकासको लागि सामुदायिक बन समिती तथा उपभोत्ताहरु अघि बढेका छन ।

सुझाव
सिंह दरबारको अधिकार स्थानिय निकायमा आएको हालको अवस्थामा ति अधिकारको प्रयोग तथा कार्यान्वयनमा आईपर्ने समस्या र चुनौतीहरुको समाधान गर्दै नागरिकहरु लाई सुशासनको माध्यमबाट छिटो छरितो र भरपर्दो रुपमा सेवा प्रवाह गर्न वडा अहोरात्र खटिरहेको छ ।

वडा भित्र रहेका प्राकृतिक सम्पदा, धार्मिक एवं पर्यटकिय स्थलहरुले सबैको मन लोभ्याउने गर्छ ।
यसरी वडाको विकास र समृद्धिलाई थप उचाईमा पुर्याउन जनप्रतिनिधीहरुले बृहत योजना सहित अघि बढ्ने सकारात्मक प्रयास गरीरहेका छन । सिहंदरबारको अधिकार गाँउगाँउमा आएपछि विकास निमार्णको अभियानलाई डोर्याउन सकेमा यसले समृद्धिको दिर्घकालिन लक्ष्यलाई छिटो भेटाउन सक्ने उतिकै सम्भावना रहेको छ । समय समयमा वडामा बस्ने जनप्रतिनिधीहरुको बैठकबाट जनताका समस्यालाई सम्बोधन गर्दै विकास निर्माणका विषयमा छलफल हुने गरेको छ ।

सरकारले कृषि र पशुपालनमा जोड दिए पनि त्यसको व्यवसायिक विकास हुन सकेको छैन । स्थानिय बासिन्दा परम्परागत खेती प्रणाली र निवार्हमुखी खेती किसानीमै संलग्न रहेका छन । वडाका सबै टोलहरुमा विद्युत, सडक तथा खानेपानीको सुविधा पुग्न अझै सकेको छैन । सबै क्षेत्रमा संचारको असुविधा कायमै छ । स्थानिय बासीन्दाले सहजताका साथ स्वास्थ्य सुविधा पाउन सकेका छैनन । शिक्षा क्षेत्रमा विद्यालयहरुले अपेक्षित रुपमा बालबालिकाहरु लाई शैक्षिक गुणस्तर दिन सकिरहेका छैनन ।

विभिन्न दृष्टिकोणबाट धेरै सम्भावना बोकेको यो वडामा विकास निर्माणका कार्यहरु गर्न पनि धेरै छन । वडाको समग्र विकासको लागि जनप्रतिनिधी लगाएत यहाँका सबै नागरिकहरुको सहभागिता र सहकार्य हुन उत्तिकै आवश्यक छ । त्यसका लागी सबैले आआफ्नो क्षेत्रबाट अगाडी बढ्न सकेमा मात्र वडा नम्बर नाै समृद्ध बन्नेछ ।

कुनै पनि मिडियालाइ याे समाचार  प्रकाशन गर्न अनुमति छैन ।