मङ्लबार, जेष्ठ ७, २०८२

विजयनगरमा २५ हजार ६ सय बढी पशुलाई भ्याक्सिन

लालु चौधरी – विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डोज) दिएको छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गोरुलाई निःशुल्क भ्याक्सिन दिइएको पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए ।

शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खोप) दिएको बताए । यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गोरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएको उनले बताए ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गोरुलाई पशुजन्य  रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसुर नराख्ने बताएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिने गरि पशु प्राविधिकहरुलाई किसानको घरमै खटाइएको बताए ।

पशुचौपायालाई सुरक्षित र निरोगी राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनको भनाई छ । उनले रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम गाउँपालिकाले गरिरहेको बताए ।

पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले पशुजन्य रोगको लक्षण देखिने बित्तिकै उपचारमा ध्यान दिनुपर्ने बताए ।  विभिन्न रोग लाग्न नदिन खोप लगाउँदै आइएको बताउँदै रोग लाग्न नदिनका लागि भ्याक्सिन नलगाई नहुने  उनले बताए ।पशुुचौपायामा समस्या देखिएमा जानकारी प्राप्त हुनसाथ किसानको घरमै पुगेर सेवा प्रदान गरिने उनले बताए ।