शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज खण्डग्रास सूर्यग्रहण : ग्रहणको समय ३ घण्टा ३३ मिनेट

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।
यो वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने गयराति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

ग्रहणका वेला समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ ।

ग्रहणको समयमा ग्रहण स्पर्श भएसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहायलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ ।

ग्रहणको समयमा घरमा विकिरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घिउ, पानी, अचार आदिमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । योबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।

काठमाडौंको आकाशमा ग्रहणको अवलोकन गर्न सकिने तर नांगो आँखाले ग्रहण अवलोकन गर्नु हानिकारक रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् ।

मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ ।