बिहिबार, भदौ २७, २०८१

Ratopress

Advertisment

SKIP THIS

छोटो समयमा लगातार भइरहेका दुर्घटनाले नेपाली आकाश असुरक्षित बन्दै

काठमाण्डाै – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको छ । आज दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट चार जना चिनियाँ यात्रु लिएर रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

पछिल्ला वर्षहरूमा नेपालमा हेलिकोप्टर दुर्घटना बढेको छ । गएको वर्ष मे महिनामा सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको थियो । गएको वर्षकै जुलाईमा सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा ६ जनाको ज्यान गएको थियो । यसअघि सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा नेपालमा १० वर्षमा बर्सेनि हेलिकप्टर दुर्घटना हुँदै आएको देखिन्छ । नेपालमा हेलिकप्टर उडान हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुने गरेका छन् । पछिल्लो समय पर्यटकहरू हेलिकप्टर चढेर हिमाली भेग जाने क्रम बढेको छ ।

युरोपेली सङ्घ (ईयू) ले हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको खराब रेकर्ड एउटा प्रमुख कारण मानेको छ । हेलिकोप्टरसँगै विमान् दुर्घटना पनि भइरहेको छ ।

दुई हप्ताअघि अर्थात् यही साउन ९ गते काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो । यस्तै २०७९ सालको माघ १ गते पोखरा विमानस्थल नजिकै विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

झन्डै साढे सात दशक लामो नेपालको उड्डयन इतिहासमा आज भएको दुर्घटना १०८ औँ हो । अहिलेसम्म यी दुर्घटनाहरूमा नौ सय ६४ जनाले ज्यान गुमाएका सरकारी विवरण छ ।