भैरहवा, २५ भदौ ।
४५ औं विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको भैरहवामा सडक खाना महोत्सव (भैरहवा फूड फेस्टिबल एण्ड म्यूजिकल नाईट–२०८१) हुने भएको छ । सिद्धार्थ होटल संघ, नेपालको आयोजनामा आगामी असोज ११ र १२ गते महोत्सव हुने भएको हो ।
संघले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवा खाना महोत्सव तथा साँस्कृतिक साँझबारे जानकारी गराएको छ । संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले २७ सेप्टेम्बरका दिन विश्व पर्यटन दिवस रहेकोले सोही अवसरमा फूड फेस्टिबल आयोजना गर्न लागिएको बताए । दुईदिने महोत्सवमा लुम्बिनी प्रदेशभरीबाट पाँचतारे होटल, चारतारे र तीनतारे होटल तथा अन्य सुविधासम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहने श्रेष्ठले जानकारी दिए ।
‘महोत्सवमा विभिन्न थरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यन्जनहरुको स्वाद लिन सकिनेछ । साथै स्थानीय र ख्यातीप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ, ’उनले भने ।
भैरहवाको देवकोटाचोकदेखि आँखा अस्पतालसम्म (सर्भिस लेन) मा दुई दिनसम्म महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकारमा छुटको व्यवस्था रहने श्रेष्ठले जानकारी दिए ।
असोज ११ गते (पहिलो दिन) गायक दुर्गेश थापा, अफसर अली, गायिका समिक्षा अधिकारी, गायिका तथा डान्सर ईन्दु दनुवार, भोजपूरी गायिका संजना सिल्क र बैन्ड–लाइभ सिंगरको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सिद्धार्थ होटल संघ, नेपालका सचिव विनोद खरेलले बताए ।
त्यस्तै असोज १२ गते (दोस्रो दिन) गायिका अस्मिता अधिकारी, प्रशंसा पाण्डे, प्रिती पासवान, भोजुपुरी गायिका संजना सिल्क, गायक मनिष कार्की र बैन्ड–लाइभ प्रस्तुति रहने खरेलले जानकारी दिए । उनले महोत्सवमा करिब ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको बताए ।
महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुने संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्मा, महोत्सवको मुख्य प्रायोजक यूनाइटेड अजोड इन्स्योेरेन्स लिमिटेड लुम्बिनी प्रदेश नायब प्रबन्धक प्रकाश शर्मा, सिद्धार्थ होटल संघका महासचिव महेन्द्र न्यौपानेले लगायतले पर्यटन प्रवद्र्धनमा सडक खाना महोत्सवको महत्वपूर्ण भूमिका रहेकाले यसलाई सफल बनाउन सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
महोत्सवको सह–आयोजकमा मायादेवी र सियारी गाउँपालिका, मुख्य प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, प्रवद्र्धकमा सिद्धार्थनगर नगरपालिका, संरक्षकमा होटल एशोसियसन अफ नेपाल, मुख्य प्रायोजकमा यूनाइटेड अजोड इन्स्योेरेन्स लिमिटेड र कार्यक्रम व्यवस्थापकमा नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रा.लि. रहेका छन् ।