आइतवार, असार २१, २०७७

इमिलियाका खड्का परिवारद्वारा क्वारेन्टाईनका लागी नगद सहयोग

गणेश बेल्बासे संगम, बुद्धभूमि ।

कोरोना भाईरसको सम्भावित संक्रमण रोकथामका लागि स्थानीय सरकारले स्थापना गरेका धेरै क्वारेन्टाईनमा प्राप्त सामाग्रीहरु छैनन् । क्वारेन्टाईनका लागि आवश्यक मापदण्ड अनुसार लत्ता कपडा, खाना, स्वास्थ्यकर्मी तथा विरामीका लागि सुरक्षाका सामाग्रीहरु प्रयाप्त छैन । यस्तो सन्दर्भमा भने बुद्धभूमि नगरपालिका वडा नं. ९ ले स्थापना गरेको क्वारेन्टाईनमा सहयोग आउने क्रम जारी छ ।

आज सोमबार सोही वडाको ईमिलिया निवासी हाल यु. एस. ए. मा रहने मदन बहादुर खड्का र उनको श्रीमती मुना देवि खड्काले क्वारेन्टाईन व्यवस्थापनका लागि भन्दै रु. १० हजार सहयोग उपलब्ध गराएका छन् ।

मदन बहादुर खड्काको छोरा किरण खड्काले आज बिहान वडा नं. ९ का अध्यक्ष खुमानन्द न्यौपानेलाई सहयोग रकम प्रदान गरेका हुन ।

समाजसेवी किरण खड्का

सहयोग रकम ग्रहण गर्दै वडा अध्यक्ष न्यौपानेले विपत्तको यस समयमा सवैको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरू बढ्दै जाने क्रममा उनीहरुको व्यवस्थापन गर्नका लागि थप सहयोग हुने बताएका छन । सहयोग गर्ने खड्का परिवारलाई अध्यक्ष न्यौपानेले धन्यवाद समेत व्यक्त गरे ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग उपलब्ध गराएको किरण खड्काले बताए । यो संकटको सामना गर्न सबैले हातेमालो गर्नुपर्ने भन्दै आफ्नो सहयोगले केही थोरै भए पनि राहत हुने उनको विश्वास छ ।

जनप्रतिनीधि, स्थानीय स्वास्थ्यकर्मी, बुद्धिजिवीको रोहबरमा सहयोग रकम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

क्वावारेन्टाईन आजसम्म ४१ जना पुगे

बुद्धभूमि क्याम्पसको क्वारेन्टाईनमा क्वारेन्टाइनमा बस्ने व्यक्ति आज सम्म ४१ जना पुगेका छन । भारतका विभिन्न ठाँउबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष न्यौपानेले रातोप्रेस डटकमलाई जानकारी दिए ।

यस अघि क्वारेन्टाइनमा बसेका १० जनाको र्‍यापिड टेस्ट नेगेटिभ आई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाई सकिएको छ । वडाले विभिन्न देशमा रहेका व्यक्तिहरुको डाटा संकलन कार्य पनि सम्पन्न गरेको छ।