बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

भारतीय विस्तारवादविरुद्ध आत्मसमर्पणवादी नेपाली सत्ता

आश्विन कार्की, बाणगंगा/कपिलवस्तु ।


भारतीय सत्ताको विस्तारवादी नीति नेपालको लागि खतराको विषय वनेको छ । छिमेकी साना र कमजोर राष्ट्रका अगाडि भारतको दादागिरी र हेपाहा प्रवृति खतरनाक ढंगले अगाडि बढेको वर्षौं भएको छ। चाहे त्यो भुटान होस् या हाम्रो देश नेपाल होस । महान् भारतका नाममा साना देशका भूगोलहरु माथि अतिक्रमण गर्ने उसको अभियान निरन्तर चलिरहेको छ । हाम्रो देश नेपाल सबैभन्दा बढी पीडामा छ । हामी नेपाली जनता भने वर्षै देखि भारतीय विस्तारवाद विरुद्ध बोल्न सकेका छौ ।

वीर गोर्खालीहरुले भारतको रक्षाको लागि अनि उसको स्वतन्त्रताको लागि लडिदिएको गुनको बदलामा उसले पटकपटक हाम्रा सीमास्तम्भहरु भत्काउने, एकलौटी रुपमा नयाँ स्तम्भ बनाउने यति मात्रै नभएर दशगजा क्षेत्रमा एकलौटी बाध र नेपाली भुमि लिपुलेकमा चीन जोडने सडक समेत बनाउन सफल भएको छ। भारतीय हस्तक्षेपका शिकार हुन हामी विवश छौँ। एकातर्फ विभिन्न सन्धि सम्झौताको माध्यमवाट हाम्रा नदीनालाहरुमाथि एकलौटी नियन्त्रण गर्न खोजी रहेको छ भने अर्कोतर्फ राजनीतिक हस्तक्षेपको माध्यमबाट पूरै सत्ता संरचनामाथि नियन्त्रण गरिरहेको छ । भारतको राजनीति हस्तक्षेपबाट नेपालका कुनै पनि राजनीतिक दल, व्यक्ति पर रहन सकेका छैनन्।

भारतद्वारा गरिएका पटक पटकका नाकाबन्दीको सामना हामीले व्यहोरिसकेका छौँ । हाम्रो राष्ट्रवादी नेताहरु जस्तै– मदन भण्डारी र जीवराज आश्रितको हत्या, राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरवार हत्याकाण्डमा भारतीय गुप्तचर संस्थाहरुको संलग्नता भएको आधारहरु देखिएका नै छन् । हामी नेपाली जनताले बारम्बार नेपालभित्र भारतीय सेना र प्रहरीको नाङ्गो हस्तक्षेप र दादागिरीलाई पटकौँ पटक भोग्दै आइरहेका छौ । उ हामीलाई सिक्किम बनाउन चाहन्छ।

हाम्रो स्वाधीनताका लागि साम्राज्यवाद वा विस्तारवादसँग लड्नुपर्छ । भारतीय सत्ताको विस्तारवादी तथा साम्राज्यवादी नीतिसँग लडेर वा संघर्ष गरेर मात्र हाम्रो स्वाधीनता जोगिन सक्छ । तर बिडम्वना हाम्रो सत्ता सधैँ आत्मसमर्पणवादी छ । हाम्रा शासकहरुको आत्मसमर्पणवादी नीतिकै कारण इतिहासमा हामीले धेरै नेपाली भूभाग गुमाएका छौँ । मैले विधालयमा पढ्ने बेला एउटा कविता पढेको थिए पूर्वमा टिस्टा पुगेथ्यौँ पश्चिममा किल्ला काँगडा भन्ने यसले नै हाम्रो गुमेको भूगोललाई प्रस्ट पार्दछ । हामीले जति पनि भूगोल गुमाएका छौँ, त्यो सबै हाम्रो आत्मसर्मपणवादी शासकहरुका कारण गुमाएका छौँ । अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुने बेला अंग्रेजले फिर्ता गरेका नेपाली भूमि फिर्ता लिने हिम्मत पनि नगर्ने हामी नेपाली कै कारण नेपालको भूगोल मेची र महाकालीमा सीमित भएको तथ्य स्पष्ट नै छ ।
हाम्रो सीमा मिचिँदा चुँसम्म बोल्न नसक्ने हाम्रो राज्यसत्ता नै राष्ट्रको हितमा छैन । हामी नेपालीमा भारतलाई चिढ्याएर हाम्रो अस्तित्व छैन भन्ने नकारात्मक मनोविज्ञान छ, जसका कारण हाम्रो सत्ता मौन छ।

हाम्रा पुर्खाहरुले वीरतापूर्ण लडेर रक्षा गरेको हाम्रो भूगोललाई खुम्चाउँदै खुम्चाउँदै हाम्रा शासकहरुले हामीलाई राष्ट्रियताको पाठ पढाएकै छन् । हाम्रो राष्ट्रलाई युगौँयुगसम्म स्वतन्त्र र स्वाधीन बनाउने हो भने एक पटक राष्ट्रिय मुक्तियुद्ध गर्नुको विकल्प हामीसँग छैन । सत्ता जोगाउन वा सत्तामा पुग्न दिल्ली जाने, भारतीय दूतावासमा बिन्तीभाउ गर्ने आत्मसमर्पणवादी नेताहरु सत्तामा भएसम्म हाम्रो राष्ट्रियताको रक्षा हुन सक्दैन । सन् १८१६ को सुगौली सन्धिले किटान गरेको नेपाली भूमि कालापानी लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाभेपछि पनि नेपाल सरकार बाट कुनै खास कदम नचाल्नाले आज लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन समेत गर्ने बल पाएको हो। के आफ्नो भुमिमा भारती सडक बनाउदा नेपाल सरकार अनि नेपाल का कुनै राजनीतिक दलले थाहा पाएनन् कि थाहा पाएर पनि नपाए जस्तो गरेका हुन ? कुनै देशका विरुद्ध होइन, तर आफ्नै सुरक्षाका लागि वा राष्ट्रिय स्वाधीनताका लागि हामीले आफ्नो नयाँ राजनीतिको विकास गर्नु अपरिहार्य छ।

भारतीय सत्ताले विस्तारवादी नीति नत्याग्दासम्म उ असल छिमेकी वा असल मित्र हुन सक्दैन । जय नेपाल आमा !