शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

दाङको भारतीय सीमामा कडाइः सशस्त्र प्रहरी चौकी थप, अब दाङका दश नाकामा १३ सुरक्षा चौकी

छविलाल कडेल, दाङ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेपछि सरकारले भारतीय सिमासँग जोडिएको दाङमा चार वटा प्रहरी चौकी थप गर्न थालेको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार चार सशस्त्र प्रहरी चौकी थप गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

जस अनुसार अब पटौली, गुरुङनाका, भौरीसाल र भौवा नाकामा सशस्त्र सुरक्षाचौकी एक दुइ दिनमै पठाइदैछ । अहिले दाङको सीमा क्षेत्रमा ६ वटा नाकामा नौ वटा सुरक्षा चौकी रहेका थिए । अहिले कोइलाबासमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा चौकी छन् ।

त्यस्तै खांग्रा नाकामा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकी छन् भने त्यस्तै मुसी नाका, डगमारा र सिरियामा नेपाल प्रहरीका चौकी छन् । सुनपथरीमा सशस्त्र प्रहरी बलको चौकी रहेको छ ।

दाङको भूभागमा ३१ वटा नाका छन् । भारततर्फी १६ नाकामा भारतीय सशस्त्र बल (एसएसबी( रहे पनि नेपालतर्फ भने थोरै मात्र सुरक्षा जाँच चौकी रहेका थिए । गत बर्षसम्म नेपाल प्रहरीले मात्रै धान्दै आएको नाका क्षेत्रमा यो बर्ष सात वटा प्रहरी सशस्त्र प्रहरी चौकी बन्ने थपिने भएपछि नाकाबासीको सुरक्षा अवस्था पनि सुदृढ हुने देखिएको छ ।

जिल्लाको ८३ किलोमिटर खुल्ला सिमाना छ। अहिले दश नाकामा स्थापना भएका १३ वटा सुरक्षा चौकीले नाका क्षेत्रको सुरक्षा र अहिले भारतीय नागरिकको अनाधिकृत प्रवेश रोक्न धेरै सहयोग पुग्ने दाङ १ (क)का प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताउनुभयो । अहिले पनि एउटा नाकाका सुरक्षाकर्मीले अरु नाकासमेत हेर्नुपर्ने अवस्था छ ।

उहाँका अनुसार मुसी र भौरीसालले घङ्ग्रवाल नाका हेर्नुपर्नेछ भने गुरुङ र सिरिया नाकाका चौकीले सुकौली नाका हेनुपर्नेछ । त्यस्तै डगमाराले फोहरीनाका हेरिरहेको छ । मानव वस्ती कम भएका नाकाबाट प्रवेश गर्नेलाई सुरक्षाकर्मीले हेर्ने र मानव वस्ती भएका नाकाबाट प्रवेश गर्नेहरुको निगरानी गर्न स्थानीय नाकावासी तथा जनप्रतिनिधिलाई समेत भनिएको प्रदेसशसभा सदस्य थारुले जानकारी दिनुभयो ।