शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सबै स्थानीय तहमा बैंकिङ सेवा खुल्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्तसहित सबै बैंक तथा वित्तीय संस्थालाई सम्भव भएसम्म सबै स्थानीय तहमा शाखा खोलेर न्यूनतम सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । खुला भएका शाखाको विवरण र सम्पर्क व्यक्तिको नम्बरसमेत आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको हो ।

यसबाहेक बन्द रहने शाखाको मूलढोकामा देखिने गरी नजिकको खुला रहने शाखाबारेको जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

सर्वसाधारणको हिँडडुल कम भएकाले धेरै शाखा खोल्नेभन्दा सेवा अवरुद्ध हुन नदिने नीतिमा बैंकहरू रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । बैंक शाखामा सर्वसाधारणको भिड कम गराएर कर्मचारीको सुरक्षा गर्नु पनि बैंकको जिम्मेवारी रहेको उनले बताए । शर्माले भने, ‘त्यसैले ग्राहक र कर्मचारीबीचको दूरी कायम गर्ने, स्यानिटाइजर, ग्लोब्सलगायतको प्रयोग गर्न लगाउने गरिएको छ ।’

राष्ट्र बैंकले यसअघि नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकको सीमा बढाइदिएको छ । ९ चैतमा निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङको प्रतिदिन सीमा ५० हजारबाट १ लाख रुपैयाँ र मासिक सीमा १० लाख बनाइदिएको थियो । त्यस्तै, मोबाइल वालेटबाट अन्य बैंक खातामा र एक वालेटबाट अर्को वालेटमा प्रतिमहिना ५ लाखसम्म रकम ट्रान्सफर गर्न सकिने सुविधा दिएको छ ।

बुधबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले एटिएममा पर्याप्त मात्रामा नगद राख्ने व्यवस्था गर्ने र निगरानी बढाउने, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङका लागि व्यवस्था मिलाउनसमेत बैंकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक वस्तुको आपूर्तिको सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबारसमेत सञ्चालन गर्न निर्देशन दिएको छ ।

‘अत्यावश्यक वस्तु आयातका लागि प्रतितपत्रलगायत खोल्न व्यवसायीहरूमार्फत आउने प्रस्तावलाई व्यवस्थापन गर्न बैंकहरूले केही कर्मचारी खटाएका छन्, अहिले यसका लागि कोही आएका छैनन्,’ शर्माले भने, ‘तर, उहाँहरू आउनुभएमा त्यसमा समस्या हुनेछैन ।’ बैंकहरूलाई अवस्था सामान्य भएपछि मात्रै राष्ट्र बैंकमा नियमित गर्नुपर्ने रिपोर्टिङ गर्न सक्ने सुविधासमेत दिएको छ ।