सोमवार, चैत्र १७, २०७६

कोरोना संक्रमित युवतीसँगै आएका १२५ जना सम्पर्कमा : आशंकामा कपिलवस्तुका एक युवक सम्पर्कमा

कपिलवस्तु । सोमबार मात्र नोवेल कोरोना भाइरस (कोभिड १९ )को संक्रमित भएको पत्ता लागेकी ती युवतीसंगै आएका मध्येको खोजी कार्य अगाडी बढाईएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संक्रमित युवतीसंगै आएको होकी भन्ने आशंकमा बुद्धभूमि – ३ का एक युवकलाई गोरुसिंगे स्थित क्वारेनटाइनमा लिएर राखिएको छ । ती युवकको अवस्था अहिले सामान्य रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।  चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जिल्लाको बुद्धभूमि ३ मा घर रहेका ती युवकको चेकजाँच गर्दा सामान्य स्थिती रहेको उहाँले बताउनुभयो । मंगलबार इलाका प्रहरी कार्यालय गोरुसिंगेले युवकलाई आशंकामा नियन्त्रणमा लिएको हो । अहिले ती युवकलाई नगरपालिकाले बनाएको क्वारेनटाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । उनी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा रहेकाले नआत्तिन नगरबासीमा नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । ‘संगै आएकाले क्वारेनटाइनमा राखिएको हो, उनको स्वास्थ्य तत्काल ठिकठाक रहेको पाइएको छ, नगर प्रमुख श्रेष्ठले भन्नुभयो’, “आवश्यक चेकजाँच गरिनेछ । नगरबासी यो विषयमा हतासिन हुँदैन ।” उनको नाम पत्ता लागे पनि गोप्य राखिएको छ ।