शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अवैध मदिराको आपूर्ति र बिक्रीमा संलग्न ७ जना पक्राउ

धनुषा – अवैध घरेलु मदिरा सेवनले दर्जनभन्दा बढीको ज्यान गएको घटनामा प्रहरीले मदिरा आपूर्तिकर्तासहित ७ जनालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले महोत्तरी जिल्ला, भंगहा नगरपालिका- ३ सखरी टोलका आपूर्तिकर्ता जगतनारायण मण्डलसहितका व्यक्तिलाई पक्राउ गरेको छ ।

अन्य पक्राउ पर्नेमा मदिरा बिक्रेताहरु धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाकी तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका– १४ रजौलका शितल देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महोत्तरीको भंगहामा निर्मित अवैध घरेलु मदिरा जगतनारायणमार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी बिक्री हुँदै आएको थियो । भंगहामा निर्मित मदिरा ‘ब्राण्डेड’ मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरेर बिक्री गरिदै आएको थियो ।

प्रहरीका अनुसार अवैध घरेलु मदिरा सेवनले एक साताभित्र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा हालसम्म ८ जनाको ज्यान गएको छ भने ६ जना अस्पतालमा सिकिस्त अवस्थामा छन् ।

तर स्थानीयका अनुसार रमदैयामा १२ र जनकपुरधाम ३ जना गरी जम्मा १५ जनाको ज्यान गएकाे छ । प्रहरीका अनुसार रमदैया १ का रामनारायण महरा, वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल र श्रीदेव यादवले ज्यान गुमाएका छन् ।

त्यसैगरी रामईश्वर महरा, प्रदीप सदा, भरत मण्डल, मनिर नादाफ, भरत सदा र सीताराम यादवको उपचार भइरहेको छ ।