बुधबार, चैत्र २६, २०७६

घरेलुद्वारा वडा नं. ११ का २६ जना महिलाहरुलाई १५ दिने सीप विकास तालिम प्रदान

अर्घाखाँची । नेपाल युवा एकता समाज अर्घाखाँचीको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको सहयोगमा १५ दिने सीप विकास तालिम प्रदान गरेको छ ।

नेपाल युवा एकता समाज अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नं. ११ मौवावारीका २६ जना महिलाहरुलाई निःशुल्क रुपमा प्राकृतिक वनस्पती थाकलबाट उत्पादित हस्तकला सामान उत्पादन विषयक सिप विकास तालिम प्रदान गरी समापन गरेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ०७६/७७ अन्तर्गतको कार्यक्रमबाट छोटो अवधीको प्राकृतिक वनस्पती थाकलबाट उत्पादित हस्तकला सामान उत्पादन विषयक सिपविकास तालिम संचालन गरिएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा न.पा. ११ का वडा अध्यक्ष कपिल आलेले तालिमले त्यस क्षेत्रका महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उक्त तालिमबाट सहभागीहरुले वरपर प्राप्त गर्न सकिने प्राकृतिक वनस्पती थाकलबाट टोपी, झोला, बाला आदि सामाग्री बुन्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन ।

 

घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीका प्रतिनिधी केशव सुनारले यस्ता सीपमूलक तालिमहरुले गांउघरका महिलाहरुको सीप अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त समेत व्यक्त गरेका छन ।

 

समापन कार्यक्रममा वडा सदस्य इन्द्र बहादुर पल्ली, उज्यालो सामाजिक विकास संस्थाका सचिव दिपक नेपाली, घौवा महिला सामुदायिक बन उपभोक्ता समितीका उपाध्यक्ष खिमानन्द खनाल, कोषाध्यक्ष कृष्ण बहादुर पुन लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

तालिम समापन कार्यक्रम भगवती गुरुङको अध्यक्षता र कमला डाँगीको संचालनमा सम्पन्न भएको थियो । तालिमको प्रशिक्षण शिव कुमारी चौधरीले गरेकी थिइन ।