बुधबार, चैत्र २६, २०७६

वडा नं. ११ मा दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन

संगम बेल्बासे, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ मा वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन हिजो बिहीबार उदघाटन भएको छ । वडा नं. ११ को खेलमैदान खयरभट्टीमा शुरु भएको प्रतियोगिताको उद्घाटन वडा नं. ११ का वडाध्यक्ष कपिल आलेले गर्नुभएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कपिल आलेले खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफूलाई चिरपरिचीत गराउन खेलकुद महत्वपूर्ण रहेको बताउनु भयो । युवाहरूलाई खेल प्रतिको अभिरुचिलाई मध्यनजर गर्दै फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो । युवा खेलाडीलाई फुटबलमा लाग्न प्रेरित गर्नुको साथै युवाहरु बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतियोगिताको पहिलो उदघाटन खेलमा जनदिवा युवा क्लब खयरभट्टी (A) र टोल सुधार युवा क्लब जाबुने बीच भएको थियो । प्रतिस्पर्धात्मक सो खेलमा टोल सुधार युवा क्लब जाबुनेले जनदिवा युवा क्लब खयरभट्टी (A) लाई ८–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

 

त्यसै गरि अर्को खेल धर्मोदय युवा क्लब ढुङ्गेसेरा र जनसेवा युवा क्लव मौवावारी बीच भएको खेलमा जनसेवा युवा क्लव मौवावारीले धर्मोदय युवा क्लब ढुङ्गेसेरालाई १५–१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

खेलका क्रममा केही विवाद आएकाले त्यस दिनको खेल रोकिएको छ । अर्को खेल आज शुक्रबार बिहान ७ बजेबाट सुरु हुने बताइएको छ ।

वडा कार्यालयको आयोजनामा भएको सो प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेले नगद पुरस्कार रु ७ हजार द्वितिय हुने टिमले नगद रु ५ हजार, तृतीय हुने टिमले नगद पुरस्कार रु ३ हजार र सान्तवना हुने टिमले नगद रु. २ हजार सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई समेत ट्रफीको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । वडा भित्रका ७ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा शितगंगा कार्यापालिका सदस्य विष्णु परियार (गोकुल) ११ नं. वडाका सदस्य गणेश पुलामी, इन्द्र बहादुर पुलामी, छुमकला पल्ली, फुलका देवि परियार, सिद्धारा स्वास्थ्य चौकीका प्रमुख धिरेन्द्र धामी, उज्यालो सामाजिक विकास संस्थाका अध्यक्ष गणेश बेल्बासे संगम, सचिव दिपक नेपाली, सहसचिव केवल परियार, सदस्य हेमराज आले, गणेशमान आले, धर्मोदय आ.वि.का प्रअ इन्द्र ब. रजाली, शम्भु आ.वि.का प्रअ टेकलाल शर्मा, ज्ञानोदय आ.वि.का प्रअ ज्ञानेन्द्र आले लगाएतको उपस्थिती रहेको थियो ।