बुधबार, चैत्र २६, २०७६

प्रचारप्रसारको अभावमा शितगंगा-११ को महादेव तपो गुफा (भिडियो हेर्नुहोस)

गणेश बेल्बासे संगम/अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिका हो । शितगंगा नगरपालिका विकास निर्माणको हिसाबले कर्णाली भनेर चिनिन्छ । यस नगरपालिकाको ११ नं. वडाका अन्य वडाहरुको तुलनामा विकट मानिन्छ । सोही वडा नं. ११ को दक्षिण-पश्चित क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पर्यटकिय हिसाबले महत्वपूर्ण स्थलका रुपमा महादेव तपो गुफा अवस्थित छ ।

महादेव तपो गुफाको प्रचारप्रसार तथा विकास हुन नसक्दा गुमनाम बनेको छ । पर्यटकिय हिसावले ओझेलमै रहेको यो गुफाको विकाससँगै प्रचारप्रसार गर्न सके गुफासंगै जिल्लाको नाम जोडिएर पर्यटकिय हिसावले अगाडि आउने सम्भावना देखिन्छ । तर त्यस गुफाको प्रचार प्रसार गर्न नसक्दा उक्त गुफाको महत्व दिन प्रति दिन ओझेलमा पर्दै गएको छ । विशेष गरी हरितालिका तीज, माघे संक्रान्ति, शिवरात्री लगायतका प्रसिद्ध दिनमा मात्र श्रद्धालु भक्तजनहरू पूजाआजा गर्न तथा अवलोकलन गर्न आउने गर्दछन ।

 

यो गुफा शिवगढी मन्दिरको काखबाट बग्ने धानखोला नदिको किनारमा अवस्थित छ । अर्घाखाँची, कपिलवस्तु र दाङ तिनै जिल्लाको संगम स्थल धानखोला नजिकै रहेको गुफामा छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु, दाङ लगायतका ठाउँबाट पूजाअर्चना गर्न आउने गर्दछन् ।

महादेव तपो गुफाको इतिहास

किम्बदन्ती अनुसार सत्ययुगमा भगवान शिवले तपस्या गरेका थिए । त्यस गुफामा भगवान शिवले तपस्या गरी ज्ञान प्राप्त गरेकोले उक्त गुफाको नाम महादेव तपो गुफाको नामले परिचित छ । त्यतिबेला तपस्या गर्दा ज्ञान प्राप्त भई दक्षिण क्षेत्रबाट ठूलो वेगमा धानखोलाको उत्पत्ति भएको भन्ने किम्बदन्ती पाईन्छ ।

गुफा वरिवरिको वातावरण

शिवगढी मन्दिरको फेदीबाट बग्ने नदीको किनारमा रहेको महादेव तपो गुफा आफैमा रमणीय छ । एकान्त वातावरण भएकाले नदीको चिसो हावाले उक्त स्थान आफैमा शीतल हुने हुँदा बाहिरबाट आउने भक्तजनहरू केही समय विभिन्न आकृतिहरूको अवलोकन गरेर मात्र जाने गरेको पाइन्छ । अवलोकन गर्न आएका भक्तजनको मनै लोभ्याउने गुफा प्रवेश गरेपछि नछोडौं जस्तै लाग्छ ।

भगवानका रूपहरूको आकृति

ठाउँठाउँमा शिवलिङ्ग जस्तै रूपको चित्र अंकित देखिने गरेको पाइन्छ । गुफामा कलात्मक प्रकृतिका प्राकृतिक मूर्तिहरू देख्न सकिने हुनाले पर्यटकहरूको मनै लोभ्याउने गरेको पाइन्छ । गुफामा पत्थरहरूले बनेको विभिन्न भगवान तथा जनावरहरुका आकृतिहरू देख्न सकिन्छ ।उक्त गुफा भित्र एक शिव लिङ्गको आकृति पनि रहेको छ ।

अवलोकन कर्ताहरूले आफूले जुन कुराको कल्पना गरेको छ त्यही आकृति पत्थरीय आकृतिहरू देख्न सकिन्छ। महादेव तपो गुफा पहिले नै यथावत् थियो, तर कसैले चासो नदिएकाले अहिले गुफाको प्रचारप्रसार एवं विकास गर्न स्थानियहरु अगाडी बढेका छन ।

महादेव तपो गुभा कसरी रहन गयो गुफाको नाम

करिब ४० वर्ष अगाडि पूर्व पश्चिम सडक निर्माणका क्रममा गुफाबाट ॐ नं. शिवायको आवाज घन्कियो । उक्त गुफालाई पछ्‌याउदैं जाँदा गुफा देखियो । त्यस गुफामा के छ भन्ने जिज्ञाशा उठेर गुफा भित्र प्रवेश गर्दा शिवलिङ्ग सहित विभिन्न आकृति देखेर आश्चर्य चकित भएछन् ।

त्यहाँको आश्चर्यता देखेर त्यो सडकलाई अर्को किनारबाट निर्माण गरिएको थियो । सोही अनुसार गुफाको नाम महादेव तपो गुफा रहन गएको किम्बदन्ती पाइन्छ ।

गुफाप्रतिको धार्मिक विश्वास एवं चासो

यहाँ महा शिवरात्रीका दिन हजारौँ हिन्दु धर्मावलम्बीहरू दर्शन गर्न आउँछन् । धार्मिक अस्तित्वको यो गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यो गुफामा आई दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने धार्मिक विश्वास रहेको छ । महादेवले तपस्या गरेको गुफा भनी धार्मिक दशनार्थीहरूले पूजा गरी गुफालाई महत्व दिएको पाइन्छ ।

गुफा संरक्षणको अवस्था र स्थानिय तहको चासो

पछिल्लो समय महादेव तपो गुफा संकटमा पर्दै गएकाले स्थानीयहरूले चासो राखेर संरक्षणमा लागेका छन् । यस क्षेत्रकै धार्मिकस्थलका रूपमा रहेको यो गुफा संरक्षणको अभावमा संटकमा पर्दै गएको हो ।

विगतका वर्षहरूमा भिरको बाटो भएकाले भक्तजनहरु गुफासम्म पुग्न बाटोको सुविधा थिएन तर यस वर्ष भने त्यो समस्या हटेको छ ।

यस स्थानको महत्व जोगाइ राख्न शितगंगा नगरपालिका वडा नं. ११ बाट आ.व. २०७६/७७ मा विनियोजित योजनाबाट रेलिङ र सिंढीको निर्माणको लागि केवल परियारको अध्यक्षतामा महादेव तपो गुफा सिढी निर्माण समिति गठन गरी सिढी र रेलिङको निर्माण कार्य शुरू गरेको हो ।

शितगंगा नगरपालिका वडा नं. ११ ले गुफासम्म पुग्न रेलिङ र सिढी निर्माण गरेको छ । आ.व. २०७६/७७ मा वडाबाट विनियोजित रकमबाट रेलिङ तथा सिढी निर्माणको काम भइरहेको वडाअध्यक्ष कपिल आलेले बताए । यस स्थानको महत्व जोगाइ राख्न महाशिवरात्री सम्ममा गुफा सम्म पुग्न रेलिङ र सिढीको निर्माणको कार्य अगाडी बढाईएको अध्यक्ष आलेले बताए । साथै गुफा भित्र उज्यालो व्यवस्थााक लागि विजुली बत्तीको व्यवस्था गरिने उनले जानकारी दिए ।

महादेव तपो गुफाको संरक्षण, विकास, प्रवर्द्धन तथा प्रचारप्रसारलाई अगाडी बढाईएको छ । यतिबेला गुफा संरक्षणका लागि स्थानीय नागरिक, बुद्धिजीवी, सरकारी कर्मचारीलगायत संघसंस्थाहरू सक्रिय भएर लागेका छन् ।

स्थानियहरुले त्यस गुफालाई पर्यटकीय स्थलका रुपमा विकासका लागि विशेष पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छन ।

पर्यटकीयस्थल बनाउने कुरामा सबैको साझा प्रयासबाट सम्भव भएकाले गुफालाई पर्यटकीयस्थल बनाउन सरोकारवाला निकायलाई उज्यालो सामाजिक विकास संस्थाका अध्यक्ष एवं अभियान्ता गणेश बेलबासे (संगम) ले आग्रह गरेका छन ।