बुधबार, चैत्र २६, २०७६

वडा नं. ९ मा आधारभूत कम्प्युटर तालिमबाट ३० जना लाभान्वित

गणेश बेल्बासे संगम, अर्घाखाँची । कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरी आयोजना गरिएको आधारभूत कम्प्युटर तालिम वडा नं. ९ मा समापन गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ इमिलिया स्थित स्कर्लस कम्प्युटर इन्ष्टिच्यूटको संचालन तथा शितगंगा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा तालिम कार्यक्रम सम्पन्न भएको हो । तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रममा प्रमाण–पत्र प्रदान गरिएको छ ।

शितगंगा नगरपालिका वडा नं. ९ का अध्यक्ष भिम बहादुर केसीले आधुनिक प्रविधिको युगमा मानिसलाई विभिन्न रोजगार र स्वरोजगारका लागि योग्य बनाउन कम्प्युटर तालिम आजको आवश्यकता भएको बताउनु भएको छ । ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा संचालित आधारभूत कम्प्युटर तालिमको समापन गर्दै केसीले त्यस्तो बताउनु भएको हो । माध्यमिक तह उर्त्तिण गरी बसेका तथा अध्ययनरत एवं विभिन्न पेशामा आबद्ध युवाहरुलाई लक्षित गरी कम्प्युटर तालिम आयोजना गरिएको बताउनु भयो । करिब तिन महिना सम्म संचालित तालिमलाई प्रभावकारी रुपमा संचालन गरेकोमा स्कर्लस कम्प्युटर इन्स्टिच्युटलाई धन्यवाद व्यक्त गर्नु भयो । वडाका विभिन्न युवा लक्षित कार्यक्रमको लागि इन्स्टिच्युटसंग निरन्तर सहकार्य गर्ने आस्वासन दिनु भयो ।

समापन तथा प्रमाण–पत्र वितरणको कार्यक्रम संचालन गर्दै प्रदिप खनालले तालिमलाई जीवनपयोगी बनाउनु पर्ने तथा प्रमाण–पत्रलाई भित्तामा टांग्ने बस्तुको रुपमा मात्र प्रयोग गर्न नहुने प्रशिक्षार्थीहरुलाई सुझाव दिनु भएको छ ।

कार्यक्रममा बोल्ने प्रशिक्षार्थीहरुले तालिम आफूहरुलाई अति उपयोगी बनेको साथै तालिममा सिकेको ज्ञान सिपलाई जीवनमा उपयोग गर्ने बताएका छन । यसरी पहिलो पटक कम्प्युटर छोएको र ज्ञान हासिल गर्ने अवसर दिएकोमा वडा कार्यालयलाई धन्यबाद दिएका छन् । आफुहरुले पाएको ज्ञान, सीपलाई निर्खान आगामी दिनमा वडाबाट थप कार्यक्रम आउने अपेक्षा समेत राखेको उनीहरुले बताए ।

समापन कार्यक्रमका अध्यक्ष एवं इन्स्टिच्युटका सह-निर्देशक कमल अधिकारीले कम्प्युटर शिक्षा आजको आवश्यकता भएकोले तालिममा सिकेका कुरालाई बढी भन्दा बढी व्यवहारमा लागु गर्न सुझाव दिनु भयो ।