शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अग्नि सापकोटाविरुद्ध काठमाडौँमा प्रदर्शन

 

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदमा उम्मद्वारी दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । कर्तव्य ज्यान मुद्दाको गम्भीर आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन भएको हो । माइतीघरमा भएको प्रदर्शनमा सापकोटालाई सभामुख बनाउने निर्णय गरेको सत्तारुढ दलविरुद्ध पनि नाराबाजी भएको थियो ।

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए । अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला परेको थियो ।

यो घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिनुभएको थियो ।

यो घटनामा संलग्न रहेको आरोप लागेका नेता सापकोटालाई सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार बनाएको छ । तर आफ्ना पतिका हत्यारालाई सभामुख बनाउन नहुने पीडित पूर्णिमायाले बताउनुभयो । विरोध प्रदर्शनमा सहभागी भएकी लामाले अग्निलाई सभामुख बनाए मुलुककै बेइज्जत हुने धारणा राख्दै पीडितलाई न्याय दिन माग गर्नुभयो ।
हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामूख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा विरोध प्रदर्शनका सहभागीले लगाएका थिए । नागरिक समाजका अगुवा कपिल श्रेष्ठले हत्याका आरोपी नेता अग्नि सापकोटालाई सभामुख बनाउनु भनेको लोकतन्त्रलाई भत्काउने नियोजित षडयन्त्र रहेको बताउनुभयो ।

विरोध प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सत्तारुढ पार्टी लोकतन्त्रको चिरहरणमा लागेको आरोप लगाउनुभयो । उहाँले हत्या जस्तो जघन्य अपराधमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई सभामुख बनाउने कुरा नागरिकले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले सापकोटालाई सभामुख चयन गरिए संसदको पवित्रता नष्ट हुने र संविधानका हत्या हुने टिप्पणी गर्नुभयो ।
तर सत्ता पक्षले भने डलरको खेती गर्नेहरुले अहिले अग्नि सापकोटाविरुद्ध नागरिक समक्ष भ्रम फैलाइरहेको आरोप लगाएको छ । नेकपाका नेता देवेन्द्र पौडेलले व्यक्ति विशेषको अभियोगसँग घटनाक्रम चित्रण गर्नु शान्ति प्रक्रिया भाँड्ने षडयन्त्र रहेको बताउनुभयो । उहाँले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुबारे आयोगहरुमार्फत समस्या निराकरण गरिने बताउनुभयो ।

बलात्कारका आरोपीलाई बाहिर खेदिएको र हत्याका आरोपीलाई भित्र ल्याउन खोजिएको भन्दै अहिले सामाजिक सञ्जाल पनि तातेको छ । अग्नि सापकोटालाई हत्या आरोप लागेको विषयमा नेकपा नेतृत्व बेखबर पनि होइन । तर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्ता आरोप आफूलाई पनि लागेकोले केही फरक नपर्ने भन्दै निर्णय गराएको विषय पनि चर्चामा छ ।