शनिबार, अशोज ६, २०८०

Ratopress

Advertisment

SKIP THIS

धार्मिक बराहदहको संरक्षणमा स्थानीय जुट्दै, प्रचार प्रसारको लागि मेला आयोजना

अर्घाखाँची । गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न छैठौं बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको छ ।
पूर्व पश्चिम सडक दाङ जिल्लाको धानखोला देखि करिब १० कि.मि. उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बीचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको विश्वास गरिन्छ । दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सन्तान हुने, सोंचेको पुग्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्छ । यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ५ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ ।

दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने वडा नं. ९ का अध्यक्ष एवम मूल आयोजक समितिका संयोजक भिम केसीले बताउनु भयो । दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा छैठौं बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको केसीले बताउनु भएको छ ।

कार्यक्रम सफल बनाउन स्थानिय क्षेत्रमा सकृय दुई सामाजिक संस्था प्रगतिशिल युवा क्लब र उज्यालो सामाजिक विका संस्थालाई जिम्मेवारी दिएको छ ।

जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेकोले यस क्षेत्रको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु लाग्नु पर्ने अभियान कर्मी गणेश बेल्बासेले बताउनु भयो ।

मेला आगामी माघ १ गते साँझ ६ बजे देखि सुरु भई २ गते सम्म लाग्ने आयोजकले जनाएको छ ।