मङ्लबार, माघ १४, २०७६

वडा नं. १० ले शिक्षण सिकाई सुधारका लागि मन्टेश्वरी तालिम सम्पन्न गर्‍यो

गणेश बेल्बासे संगम/अर्घाखाँची । शैक्षिक विकासको लागि नगरमै सबै भन्दा बढी योजना विनियोजन गरेको शितगंगा नगरपालिका वडा नं. १० ले एक हप्ते मन्टेश्वरी शिक्षक तालिम बुधबार सम्पन्न गरेको छ ।

सहभागीहरूले तालिम लिदैं

 

यहि पौष ३ गते शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीद्वारा उद्‌घाटन गरी संचालन गरिएको एक हप्ते मन्टेश्वरी शिक्षक तालिम बुधबार सम्पन्न भएको हो ।

 

एक हप्ता सम्म जनजागृति माविमा चलेको तालिममा वडा नं १० का सम्पूर्ण विद्यालयहरू लगाएत वडा नं. ९ का शंकर ज्योती आधारभूत विद्यालय लौरी र जनजागृति आधारभूत विद्यालय सिद्धारा, वडा नं. ११ का धर्मोदय आधारभूत विद्यालय र दुम्सी आधारभूत विद्यालयका गरी बालविकास तथा प्राथमिक तहका २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

तालिमको समापन कार्यक्रममा बोल्दै वडा नं. १० का अध्यक्ष हिम्मत पोख्रेलले शिक्षण सिकाइमा नयाँ विधी तथा सिपको प्रयोग गर्नुपर्ने भएकोले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि तालिम उपयोगी बन्न सक्ने बताउनु भएको छ । बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप मार्फत शिक्षण सुधारको लागि तालिम संचालन गरिएको बताउनुभयो । बालबालिकालाई मनोवैज्ञानिक तथा प्रयोगात्मक तरिकाले खेल्दै सिक्ने वातावरण गराउन तालिममा सहभागी शिक्षकहरूले आ-आफ्नो विद्यालयमा गई सोही अनुसार शिक्षण गर्ने समेत विश्वास व्यक्त गर्नू भयो ।

 

यस्तै कार्यक्रमका सहभागीको तर्फबाट बोल्दै डिही आधारभूत विद्यालयका प्रअ लक्ष्मण ओलीले अबको सिकाइ प्रक्रिया घोकन्ते नभई प्रयोगात्मक विधिबाट सन्चालन गर्नु पर्ने भएकोले तालिमबाट प्राप्त ज्ञानलाई कक्षा कोठामा प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

 

समापन कार्यक्रममा शिक्षाप्रेमी एवम सुवोधनी माविका अध्यक्ष माधव पौडेल, सहभागी शिक्षक सिता गैरे लगाएतते मन्तव्य व्यक्त गरेका थिए ।

 

तालिममा सहभागी शिक्षकहरूले आफ्नो शिक्षण कार्यकालमै यस्तो प्रभावकारी तालिम पहिलो पटक लिएको बताएका छन् । साथै आफुहरुले तालिममा सिकेका ज्ञान सिपलाई विद्यार्थीसामु लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

 

समापन कार्यक्रम वडा नं. १० का अध्यक्ष हिम्मत पोख्रेलको अध्यक्षता र जनजागृति माविका प्रधानाध्यापक रोमाखर बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

 

एक हप्ता सम्म चलेको तालिममा स्कुल अफ ट्रेनिङ प्रा.लि. का प्रशिक्षक कृष्ण पङ्गेनी र किरण काफ्लेले सहजिकरण गर्नु भएको थियो ।