मङ्लबार, साउन २७, २०७७

समाजवादीद्वारा सरकारमा नजान राजपालाई दवाव, आत्मघाती हुने सुझाव

 

काठमाडौं । मधेश केन्द्रीत दुई राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दुईतिहाईको समर्थन गुमाएको छ । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब ओली सरकारसँग साधारण बहुमत मात्रै छ ।

राष्ट्रिय जनता पार्टीले यसअघि नै समर्थन फिर्ता लिएको थियो । राजपासँगै समाजवादीले पनि समर्थन फिर्ता लिएका बेला सत्ता सञ्चालनमा त खासै फरक पर्दैन तर संविधान संशोधन र महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुईतिहाई बहुमत अब ओली सरकारसँग छैन ।

समाजवादीको ठाउँमा अब राजपालाई सरकारमा ल्याउने तयारी बालुवाटारमा भइरहेको राजनीतिक वृत्तमा चर्चा छ । तर यदि राजपा सरकारमा गए त्यो कदम उसका लागि आत्मघाती हुने चेतावनी हिजो मात्रै सरकार छाडेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा यादवले आत्मघाती कदम चाल्दै सरकारमा गएर राजपाले आत्महत्या गर्ला जस्तो आफूलाई नलागेको बताउनुभयो ।

मधेसकेन्द्रीत दलहरुलाई सत्तामा जान लुछाचुडी गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । संविधान शंसोधनका लागि भन्दै सरकारमा गएको समाजवादी अहिले सत्तामा रहेर त्यो सम्भव नभएको भन्दै बाहिर आएको छ तर त्यही संविधान संशोधनको मुद्दामा टेकेर मधेसको अर्काे घटक राजपा सरकारमा जाने चर्चा छ । यदि चर्चामा आए अनुसार राजपा सरकारमा गए त्यो मुर्खतायुक्त निर्णय हुने समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको जिकिर छ ।

यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले अहिले राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेकपासँग तालमेल गरेको छ । सोही सहमतिका आधारमा प्रदेश २ को सरकार पनि फेरबदल हुन सक्ने अनुमान भइरहेको छ । तर राजपाले तत्काल सरकारमा जाने अथवा बाहिरै बसेर समर्थन दिनेबारे कुनै निर्णय गरेको छैन ।

एक तप्काले एकताका लागि समाजवादीले सरकार छाड्नुपर्ने राजपाको अडान पूरा भएकोले यी दुई पार्टीको एकता हुन सक्ने सम्भावना पनि देखेका छन । तर राजपा अध्यक्षमण्डलका एक सदस्य अनिल झा समाजवादीसँग एकताको तत्काल कुनै सम्भावना नरहेको बताउनुहुन्छ ।

कुनै पार्टी सत्तामा रहने अथवा नरहने विषय भन्दा पनि अहिले विकास र समृद्धिको विषय महत्वपूर्ण हो । तर वर्षाैँदेखि संविधान संशोधन मुद्दाको बुईँ चढेर राजनीतिक दुनो मात्रै सोझ्याउनेहरुबाट मुलुक र जनताको भलो हुँदैन ।