मङ्लबार, साउन २७, २०७७

सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीको तेस्रो साधारण सभा सम्पन्न

रातोप्रेस संवाददाता, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ९ र ११ को सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।

 

वडा नं. ९ र ११ का सहभागी शेयर सदस्य महिलाहरु

 

 

 

शितगंगा -११ दोबाटा स्थित ताराज्योती आधारभूत विद्यालयको प्राङ्गणमा संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा ५ नं. प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले सहकारी मार्फत सहकार्य गरेर आर्थिक समृद्धिको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । सहकारीमा आवद्ध शेयर सदस्यहरु मिलेर सिद्धाराको पहिचान खोज्न महिला दिदीबहिनीहरु सफल हुन सकिने घिमिरेको भनाइ थियो । घिमिरेले सहकारीको सदस्यता बढाउने अभियान नरोक्न पनि जोड दिनुभएको छ । भौगोलिक रुपले विकट क्षेत्र भएपनि छोटो समयमा राम्रो कारोबार गर्न सफल भएकोमा सहकारीमा आबद्ध आमा दिदिबहिनीहरुलाई बधाई व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रदेश सदस्य रामजी प्रसाद घिमिरे

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्य प्रसाद अधिकारीले कृषि सहकारी भएकाले नगरपालिकाले नगर क्षेत्रका बेरोजगार नागरिकहरुलाई उद्यमशील बनाउनको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमलाई विशेष प्राथमिकताको साथ लगानी गरिरहेको बताउँदै सबै नगरबासीलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभएको छ । सहकारी मार्फत अनुदान वितरणको कार्यक्रम भएकाले सबै शेयर सदस्यको आयआर्जन वृद्धि कसरी गर्न त्यस्तो कार्यक्रम ल्याएकोले सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकोे लागि आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने अधिकारीले बताउनु भएको छ ।

नगर प्रमुख सूर्य प्र. आधिकारी बोल्दै

 

कार्यक्रममा शितगंगा नगर उपप्रमुख टिका रेश्मी, वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर केसी, वडा नं. ११ का वडाध्यक्ष कोपिल आले लगाएतका महानुभावहरुले सहकारी प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०७३ चैत्र १४ गते दर्ता भएको यस संस्थामा ३५ जना सेयर सदस्याबाट हाल ५ सय ५२ जना सेयर सदस्य रहेका छन् । सहकारीको आर्थिक वर्ष २०७५/०७६ मा ६ लाख ५५ हजार शेयर पूँजी संकलन भई जम्मा ३७ लाख ५९ हजार ७ सय ५५ रुपैया कूल पूँजी पुगेको छ I

सोही साधारण सभा कार्यक्रममा सबैभन्दा बढी बचत गर्ने कर्ता, महत्वपूर्ण योगदान पुर्‍याउने कृषक, कृषक समूह तथा विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । साथै सोही अवसरमा २०७५/२०७६ को अडिट रिपोर्ट अनुमोदन, सहकारीका विभिन्न आवश्यक निती, संस्था संचालनको लागि सहकारी ऐन २०७४ बमोजिम सहकारीको विनियम संसोधन एवम् प्रतिवेदन प्रकाशन गरी साधारण सभामा संस्थाको आ.व. ०७५/७६ मा गरेका कार्यहरू र ०७६/७७ का लागि प्रस्तावित निती तथा कार्यक्रमहरु माथि समूहगत छ्लफल गरी साधारण सभाबाट अनुमोदन गरेको छ ।

साथै सोही अवसमा रातोप्रेस डटकमका प्रधान सम्पादक गणेश बेलबासे संगमलाई सहकारीको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरेको छ ।

गणेश बेल्बासे सम्मानित हुदै

सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको कार्यबाहक अध्यक्ष दिलमाया घर्तीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा वडा नं. ९ र ११ का जनप्रतिनिधी, हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल, प्राग नेपाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रम मेस्डो नेपाल कपिलवस्तुका प्रतिनिधी मेघराज पाण्डेको सहजिकरण तथा सहकारीको व्यवस्थापक शुशिला आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन गर्दै सुशिला आचार्य