आइतवार, असार २१, २०७७

सिद्धारा सहकारीको साधारणसभा उदघाटन प्रदेश सांसद घिमिरेद्वारा हुने

गणेश बेल्बासे संगम/अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ मा अवस्थित सिद्धारा कृषि तथा पशु विकास महिला कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्‌घाटन ५ नं. प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले गर्नुहुने भएको छ ।

तेस्रो साधारण सभा तथा अधिवेशनको तयारीको लागि गएको मंसिर २८ गते शनिबार सहकारीको कार्यसमितिको बैठक बसेको थियो । जुन बैठकले पौष ६ गते आईतबारका दिन अर्घाखाँचीको शितगंगा नगरपालिका-११ दोबाटामा बिहान ११ बजे देखि सुरु हुने गरी मिति, समय र स्थान तय गरेको छ I

 

उक्त साधारण सभा तथा अधिवेशनमा आ.व. ०७५/७६ मा योगदान पुर्‍याउने कृषक समूह तथा विभिन्न संघ संस्थाहरुलाई सम्मान गर्ने, अडिट रिपोर्ट पारित गर्ने, सहकारीका विभिन्न आवश्यक नितीहरु कार्यान्वयनका लागि पारित गर्ने, संस्था संचालनको लागि सहकारी ऐन २०७४ बमोजिम सहकारीको विनियम संसोधनको लागि साधारण सभामा पेश गर्ने, प्रतिवेदन प्रकाशन गरी साधारण सभा पहिले समूह समूहमा संस्थाको आ.व. ०७५/७६ मा गरेका कार्यहरू र ०७६/७७ का लागि प्रस्तावित निती तथा कार्यक्रमहरु माथि समूहगत छ्लफल गरी साधारण सभामा पेश गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

 

साथै उक्त कार्यक्रममा शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगाएत वडा नं. ९ र ११ का जनप्रतिनिधी हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल, प्राग नेपाल लगाएतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधीलाई निमन्त्रणा गरिएको सहकारीको कार्यबाहक अध्यक्ष दिलमाया घर्तिले जानकारी दिनुभयो ।

 

कार्यक्रममा सहकारीमा आबद्ध सम्पूर्ण समूह तथा सेयर सदस्य, वडा नं. ९ र ११ का वडाबासी, राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, सूरक्षाकर्मी, पत्रकार सम्पूर्णलाई उस्थितीको लागि अनुरोध गरिएको छ ।