आइतवार, माघ ५, २०७६

पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौँ, २ पुस । पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड सुनाइएकोमा सेनाले आपत्ति जनाएको छ । मेजर जनरल आसिफ गफूरले अदालतको फैसलाले ‘अनगिन्ति पीडा र वेदना दिएको’ प्रतिक्रिया दिए ।

मुशर्रफमाथि अदालतको फैसलापछि उच्च सैन्य अधिकारीहरुको बैठक समेत बसेको हो । ‘पूर्व सेनापति, संयुक्त चिफ अफ स्टाफ र पाकिस्तानी राष्ट्रपति, जसले ४० वर्ष देशको सेवा गरे, युद्ध लडे, उनी कहिल्यै देशद्रोही बन्न सक्दैनन्,’ सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘पाकिस्तानको संविधान अनुसार न्याय हुने अपेक्षा सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ । मंगलबार बिहान पाकिस्तानको अदालतले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो । मुशर्रफ दुबइमा उपचारका लागि छन् । यही महिना मात्रै उनी हस्पतालमा नियमित उपचारका लागि गएका थिए ।

देशका पूर्वराष्ट्रपतिमाथि अदालतले यसरी मृत्युदण्ड सुनाएको पाकिस्तानी इतिहासमै पहिलो घटना हो । अदालतको फैसलापछि पनि मुशर्रफले प्रतिक्रिया दिएका छन् । ‘मैले १० वर्षसम्म देशलाई सेवा गरेको छु, म देशका लागि लडेको छु,’ मुशर्रफले भने । २०१३ मा उनीमाथि देशद्रोहको मुद्दा लगाइएको थियो ।
अन्नपूर्ण पोष्ट्बाट