मङ्लबार, माघ १४, २०७६

वडाध्यक्ष केसीद्वारा मोटरबाटो उद्घाटन, स्थानीयमा छायो खुशीयाली

गणेश बेल्बासे संगम/अर्घाखाँची । शितगंगा नगरपालिकाको वडा नं. ९ मा रहेको चिदिचौर देखि दाङको भालुवाङ जाने मोटर बाटोको उद्घाटन गरिएको छ । मोटर बाटो उद्घाटन गरे पछि स्थानीयहरुमा खुशीयाली छाएको छ ।

वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले प्रमुख अतिथीका रुपमा मोटर बाटोको उद्घाटन गर्दै वडा नं. ९ को विकासमा आफूले सक्दो प्रयासको थालनी गरेको बताएका छन् । महंगो भारा तिरेर अटोमा यातायात गर्नु परेको गुनासो आए पछि उक्त मोटर बाटोमा बस संचालनका लागि वडा अग्रसर भएको बताए । चिदिचौर देखि सिलिङखोला, लापे, सातमा हुदैं दाङको भालुवाङ सम्म करिब २० किलोमिटर जानका लागि बस संचालन गरिएको उनले बताए । चाक्ला देखि पश्चिम दाङ जानका लागि मोटर बाटोले सहजता थपेको भन्दै समग्र वडाको विकासमा गुरुयोजना तयार गरेर विकास निर्माणमा अगाडी बढेको बताए ।

कार्यक्रममा शितगंगा नगर कार्यपालिका सदस्य विष्णु परियार, स्थायी प्रहरी चौकी सातमाराका प्रमुख नकुल गिरी लगाएतले मन्तव्य राखेका थिए । देविराम रानाको अध्यक्षता, यमलाल रास्कोटीको स्वागत तथा वकिल रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी घनु गाहा, उज्यालो सामाजिक संस्था, अर्घाखाँचीका सहसचिव केवल परियार, उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।