
रातोप्रेस संवाददाता/कपिलवस्तु ।
सिद्धेश्वर शिवालय मन्दिर समिति चौवन्नको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्न स्थित सिद्धेश्वर शिवालय मन्दिर परिसर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीयको घरमा उत्पादन गरिएका विभिन्न फलफुलका करिब ३ सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । जसमा आँप, अम्बा, कागती, लिची, मेवा, कटहर, किम्मु, अशोक, अमिलो, निम लगाएत बहु उपयोगी बिरुवाका साथै विभिन्न प्रजातीका फुलहरूका विरुवा रोपिएको छ ।
सिद्धेश्वर शिवालय मन्दिर समितिका अध्यक्ष हिमाकान्त अधिकारीको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा चौवन्नबासी करिब ६० घरधुरीबाट स्थानीयको सहभागिता रहेको थियो ।
मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न मन्दिरको परिसर क्षेत्र हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको समितिका अध्यक्ष हिमाकान्त अधिकारीले बताउनु भयो ।
त्यसैगरी लगाएका बिरुवाको संरक्षण गर्न सबै चौवन्नवासीको दायित्व हुने भएकाले समय समयमा त्यसको मलजल र उकेरा गरी संरक्षणमा जुट्नु पर्ने समितिका सचिव जिवनारायण खनालले बताउनु भयो ।
बिरुवाको संरक्षण गर्नुपर्छ भन्दै गएको बिहीबारदेखि मन्दिरको करिब एक बिगाहा क्षेत्रमा तारबारको साथै सरसफाई समेत गरिएको थियो ।