
लोक गायक द्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई संयुक्त रूपमा ‘धर्मराज–सावित्री लोकगीत पुरस्कार’ प्रदान गरिएको छ । गायक–गायिका दम्पतीलाई सोमबार राजधानीमा आयोजित जनकविकेशरी धर्मराज थापाको जन्म शताब्दी शुभारम्भ समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि संयुक्त रूपमा रु.५०,०००/- रुपैयाँ रहेको छ ।
इतिहासविद् चित्तरञ्जन नेपाली र प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले उक्त पुरस्कार प्रदान गरेका हुन् । कास्की पोखराको बाटुलेचौरमा १९८० साउन १ गते जन्मेका थापाको २०७१ असोज २८ गते निधन भएको थियो । जनकविकेशरी थापाले नेपाली लोकगीत संगीतको श्रीवृद्धि, लोकगीत गायन, लोकसाहित्यको खोज अनुसन्धान र प्रकाशनमा अतुलनीय योगदान पुर्याएका छन् । जन्मशताब्दीको एक वर्षभित्र साहित्यका गतिविधि तथा उनका सिर्जनाको प्रचार–प्रसार र खोज गर्ने अध्यक्ष थापाले जनाएका छन् ।
प्राध्यापक अभि सुवेदीले जनकविकेशरी धर्मराज थापाको बहुआयामिक व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव लक्ष्मण वियोगीले देशका ७ वटै प्रदेशमा साहित्यिक तथा लोकसंस्कृति सम्बन्धी कार्यक्रम गरिने र जनकविकेशरी थापाको योगदानको परिचर्चा, प्रचार–प्रसार र प्रवर्द्धनमा समन्वय गर्ने जनाए । पुरस्कृत व्यक्तित्व संस्कृतिविद् ग्वंगःको परिचय तथा योगदानबारे साहित्यकार जितेन्द्र रसिकले प्रकाश पारेका थिए भने गायनतर्फ पुरस्कृत कलाकारद्वय कार्की र आलेको योगदानबारे लोक गायक प्रेमराजा महतले चर्चा गरेका थिए ।