शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

मेयर ज्यू, डोजर चलेको हेर्न पुग्नुभयो तर स्कुल चलेको हेर्न पुग्नु भएन ?

मेयर ज्यू,
डोजर चलेको हेर्न पुग्नुभयो, स्कुल चलेको हेर्न पुग्नु भएन ।
कामदारको काम हेर्न पुग्नुभयो, शिक्षकको काम हेर्न पुग्नु भएन ।
पुल पुलेसा जोडेको हेर्न पुग्नुभयो, शिक्षकले सामग्री जोडेको हेर्न पुग्नु भएन ।
ठेकेदारलाई सुझाउन पुग्नुभयो, प्र.अलाई सुझाउन पुग्नु भएन ।
भत्किएका सडकबाटो र घर हेर्न पुग्नुभयो, भासिएको शिक्षा हेर्न पुग्नुभएन ।
जलेको वन जङ्गल हेर्न पुग्नुभयो, खरानी भएको शिक्षा हेर्न पुग्नु भएन ।
फलेका झुकेका बाली हेर्न पुग्नुभयो, फलाउन सक्ने बालबालिका हेर्न पुग्नु भएन ।
गाउँगाउँमा मतदाता भेट्न पुग्नुभयो, स्कुले विद्यार्थी भेट्न पुग्नु भएन ।
गाउँमा बिजुली बलेको हेर्न पुग्नुभयो, विद्यालयको अँध्यारो कोठा हेर्न पुग्नुभएन ।
नेता बनेर मेयर ज्यू हर ठाउँ पुग्नुभयो,
– प्रधानाध्यापक
– शिक्षक
– विद्यार्थी
र अभिभावक कुनै एक बनेर कुनै ठाउँ पुग्नुभएन ।

🔸पुग्दिनुस मेयरज्यू, तपाईं स्कुल पस्दिए मात्र पनि हौसला बढ्छ ।
🔸कक्षा कोठामा छिर्दिनुस, तपाईंलाई नमस्कार गर्ने संस्कार विद्यार्थीले सिक्नेछ, शिक्षकले सिक्नेछन् ।
🔸 नमिलेको प्र.अ बस्ने कक्षको टेबल सिधा हुनेछ ।
🔸 विद्यालयको धाराको पानी पिउने प्रयत्न गर्नुहोस् । धारो सफा हुनेछ, पानी सफा आउनेछ ।
🔸 एकछिन कम्प्युटर चलाउँछु भनेर प्र.अ वा शिक्षकलाई कम्प्युटर जोड्न लगाउनुहोस् । व्यवस्थापन कस्तो छ थाहा पाउनुहुनेछ ।
🔸 एकछिन विद्यार्थी बनेर कक्षामा बस्दिनुस, कि दक्ष शिक्षकबाट तपाईंले केही सिक्नुहुनेछ, कि त दक्षता हराएको शिक्षकलाई केही सिकाउनुहुनेछ ।
🔸 विद्यार्थी बस्ने बेन्चमै बस्दिनुहोस्, कुसनमै बस्दिनुहोस् र अग्लो होचो के भयो बुझ्दिनुहोस्, तपाईं आजमात्र त्यहाँ बस्नुभएको हो, विद्यार्थी वर्षौं देखि त्यही बस्दै आइरहेका छन् ।
🔸 एकदिन एकछिन बाबुनानीले कस्तो पढ्दै छन् भनेर कुनै घरमा छिर्नुहोस्, कक्षाकार्य गृहकार्य कस्तो छ भनेर मात्र सोधिदिनुहोस्, पानी पिएर फर्कनुहोस् । तपाईं फर्केपछी घरमा पक्कै केही चहलपहल हुन्छ, अल्छिले पनि किताब समाउनेछ, कलम समाउनेछ ।
🔸हरेक भेलामा स्कुलका कुरा बोल्दिनुहोस्, राम्रो गर्नेका कुरा बोल्दिनुहोस्, नराम्रो गर्नेका पोल खोल्दिनुहोस् । चेत खुल्नेछ ।
🔸 भाषणमा राजनीतिज्ञ र दार्शनिकका कुरामात्र होइन असल शिक्षकका कुरा जोड्दिनुहोस्, अब्बल प्रधानाध्यापकका कुरा जोड्दिनुहोस् ।
🔸मुखभरी, मनभरी विकास छ भन्नू हुन्छ, त्यो विकासमा शिक्षालाई पनि बोकेर हिड्दिनुहोस्, तपाईले लेख्ने डायरीमा
– स्कुलका कुरा लेख्दिनुहोस्,
– प्र.अ. र शिक्षकका पीडा लेख्दिनुहोस्,
– कक्षाकोठाका कुरा लेख्दिनुहोस् ।
किनकि Mayor ज्यू May be भन्दै होइन Must be, should be भन्दै हिड्नुपर्छ ।
सम्पूर्ण मेयरहरू ज्यू प्रति समर्पित ।

लेखक : तिलक राम बन्जाडे (Tee Luck Banjade), भूमिकास्थान, अर्घाखाँची । (उहाँ रातोप्रेस डटकमका पूर्व शिक्षा ब्युरो प्रमुख हुनुहुन्थ्यो । त्यस्तै विभिन्न विद्यालयमा शिक्षण गर्दै हाल प्राविधिक सहायक (प्रास) का रूपमा कार्यरत हुनुहुन्छ ।)