
रातोप्रेस/ अर्घाखाँची ।
८४ वर्ष पुरा भएका जेष्ठ नागरिकको सम्मानमा जिल्लाको शितगंगा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शितगंगा-११ का वडा अध्यक्ष नवराज भुसाल घरघरमै पुगि सम्मान रकम वितरण गर्नुभएको छ । भौगोलिक विकटताका कारण जेष्ठ नागरिकलाई समस्या नहोस भन्दै अध्यक्ष भुसालले जेष्ठ नागरिकको घरघरमा पुगि नगरले प्रदान गर्ने जनही रू २५ हजार सम्मान रकम वितरण गर्नु भएको हो ।
नगरको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरघरमा पुगि ८४ वर्ष माथिका जेष्ठ नागरिकसँग कार्यक्रमसंगै भेटघाट तथा भलाकुसारी भएको अध्यक्ष भुसालले बताउनु भयो ।
भौगोलिक विकटताका कारण अपेक्षित रूपमा संरचनागत भौतिक विकास गर्न नसकेपनि वडाबाट हुने सेवा प्रवाहलाई वडावासीको पहुँचमा ल्याउन आफुले अभियान सुरु गरेको बताउनु भयो । वडाका हरेक वस्तीमा घुम्ती सेवा दिने गरी घोषणापत्रमा उल्लेख भए अनुसार अगाडी बढेको बताउनु भयो । वडाका ढुङ्गेसेरा, मौवावारी, दुम्सी-ढोडेनी, लुंग्री, खयरभट्टी, फोर्सल, मुल, चावाद्विप, गाईघाट, चाबेनेटा, बेलदमार, दोबाटा लगाएतका सबै टोलबस्तीमा पुग्ने योजना रहेको बताउनु भयो । सम्मान रकम स्वरूपको रकम प्राप्त गरेसँगै जेष्ठ नागरिकहरु भने खुशी भएका छन् ।
वडाले अन्य सेवा प्रवाहलाई पहुँचमा पुर्याउन तिन ठाउँबाट सेवा प्रदान गरेको छ । पछिल्लो समय वडाको टिककरीमा वडा सम्पर्क कार्यालयसमेत स्थापना गरी प्रत्येक साताको बिहीबार र शुक्रबार सेवा प्रदान गरेको छ । त्यसैगरी वडा कार्यालय खयरभट्टीबाट नियमित सेवा प्रवाह प्रदान गर्न पुर्वाधारको विकास गर्न लागेको बताउनु भयो । त्यस्तै कलस्टर मार्फत वडा अध्यक्षसहित वडा सदस्य तथा कर्मचारीहरू समेत टोलवस्तीमा पुगी सेवा दिदै आउनु भएको छ ।