आइतवार, माघ ८, २०७९

Ratopress

Advertisment

SKIP THIS

गोही पाईने बराह दहमा नवौं माघी एवं साँस्कृतिक मेला सम्पन्न

रातोप्रेस संवाददाता, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ मा अवस्थित गोही पाईने बराहादहमा नवौँ बराहदह माघी तथा साँस्कृतिक मेला-२०७९ सम्पन्न भएको छ ।

स्थानीय कला सस्कृतिको जगेर्ना गरौ, बराहदहलाई धार्मिक एवं पर्यटकिय रुपमा प्रबर्द्धन गरौ भन्ने मुल नाराका साथ नवौँ बराहादह माघी एवं सास्कृतिक मेला सम्पन्न भएको हो ।

मेलाको समुद्घाटन अर्घाखाँची क्षेत्र ‘क’ बाट निवार्चित लुम्बिनी प्रदेशका सदस्य तथा मन्त्रि चेतनारायण आचार्यले गर्नु भएको थियो । कार्यक्रममा शितगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव प्रसाद बेल्बासे, ११ का वडा अध्यक्ष नवराज भुसाल, जिल्ला समन्वय समिति पूर्व उप-सभापती ऋषि बहादुर पुलामी, ११ का पूर्व वडा अध्यक्ष कपिल चन्द आले लगाएतको उपस्थिती रहेको थियो ।

माघे संक्रान्तीको पावन अवसरमा बराहदह मेलालाई केन्द्रित गरी पूर्व सन्ध्यामा वडा कार्यालयबाट आयोजना गरीएको वडा अध्यक्ष कप भलिबल प्रतियोगीतामा उत्कृष्ट समूहलाई पुरस्कार वितरण गरिएको थियो । जसमा शितगंगा-२ सितापुरको टिम प्रथम, आयोजक टिम द्वितिय, शितगंगा-८ को लाङ्घाली युवा क्लब तृतिय र प्रगतिशिल युवा क्लब सान्त्वना भएका थिए । भलिबल प्रतियोगीताका बिजेताहरुलाई क्रमश ३० हजार, मेडल र प्रमाण पत्र, २० हजार मेडल र प्रमाण पत्र, १५ हजार मेडल र प्रमाण पत्र र १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यस्तै सोही अवसरमा आयोजना गरिएको खुला नृत्य प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना भएकालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । खुला नृत्य प्रतियोगिताका बिजेताहरुलाई क्रमश ७ हजार र प्रमाण पत्र, ५ हजार र प्रमाण पत्र, ३ हजार र प्रमाण पत्र तथा २ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

माघ १ गते बिहान ११ बजेबाट शुरु भएको मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरु मिसन भुसाल, राजन अधिकारी, माधव बेल्बासे लगाएतको सांगितीक प्रस्तुती रहेको थियो । साथै कार्यक्रममा विभिन्न विद्यालय तथा समुहहरुले झाँकी समेत प्रस्तुत गरेका थिए ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ ।

अर्घाखाँचीको दक्षिण-पश्चिम भागमा रहेको बराहदह शितगंगा-९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराह भगवानसगँ बर मागेमा सोंचेको पुग्ने विश्वास रही आएको छ । यस गोही पाईने धार्मिक बराहदहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा केन्द्रिय निकाय सम्म पुगोस् भन्दै विगतका वर्षहरू देखि बराहदह माघि तथा साँस्कृतिक मेलाको आयोजना गरिदै आएको थियो ।