बिहिबार, अशोज ४, २०८०

Ratopress

Advertisment

SKIP THIS

जलुके कृषि महिला सहकारीको छैठौँं वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचरसहित)

रातो प्रेस संवाददाता/ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-८ स्थित जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाले एक औपचारीक कार्यकमको आयोजना गरी गएको शनिवार आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाकी उपाध्यक्ष कल्पना विकको अध्यक्षता तथा शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकेश आलेको प्रमुख आतिथ्यता रहेको साधारण सभा नवज्योती आवि सतमारामा सम्पन्न भएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ सम्मको शेयर पुजी, बचत संकलन, कर्जा लगानी, आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना व्यक्त गर्दै वडाध्यक्ष रुकेश आलेले समाज परिवर्तनका लागि महिलाहरुको अग्रसरता हुनुपर्ने बताउनु भएको छ । परिवार देखि समाज निर्माणको सुरूवात महिलाबाट नै सम्भव हुने कुरामा जोड दिदै सहकारी मार्फत महिलाको शसक्तिकरण भएकोमा सहकारीमा आबद्ध महिला दिदी बहिनीलाई शुभकामना व्यक्त गर्नु भएको थियो । सहकारीलाई अगाडी बढाउन एकजना व्यक्ति मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो । त्यस्तै सहकारीलाई अगाडी बढाउन सके महिलाहरु स्वावलम्बी र आर्थिक रुपमा अगाडी बढ्न सक्ने उहाँको भनाई थियो । आजको बचत भोलिको साहारा भएकाले सहकारीमा लागेर व्यवसायीक बन्नुपर्नेमा जोड दिनु भयो । उहाँले समाजमा हुने महिला हिसां समेत रोक्नका लागि भुमिका खेल्न आग्रह गर्नु भएको छ ।

सोही कार्यक्रममा बोल्ने विशिष्ट अतिथि तथा वडा सदस्य अर्चना राना, हेफर प्रोजेक्ट नेपालका प्रतिनिधी केशव भुसाल, संस्थाकी निवर्तमान अध्यक्ष गीता केसी लगाएतका अतिथि वक्ताहरूले संस्थाको प्रगतिको कामना गरेका थिए ।

संस्थाकी उपाध्यक्ष कल्पना विक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै महिलाको व्यक्तित्व विकास सामुहिक प्रयास र महिलाहरुको सक्रियतामा जलुके महिला सहकारी संस्थालाई नमुनाको रुपमा विकास गर्न अगाडी बढेको प्रष्ट पार्नु भयो । आगामी वर्षहरुमा केही सृजनशिल लक्ष्यको साथ अगाडी बढाउने उहाँको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न कारणले राजिनामा दिई खाली रहेका पदहरुमध्ये कार्य समितिको अध्यक्षमा सिमा श्रेष्ठ लगाएतका सचिव र सदस्य पदमा नयाँ सदस्य चयन हुनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिमा वडा सदस्य जमानसरी सुनार, शमसेर बुढा, बेल बहादुर राना रहनु भएको थियो । अतिथीमा बढीदमार स्वास्थ्य ईकाई प्रमुख कविता विश्वकर्मा, विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी, सहकारीका शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषकमा केराखेती तर्फ, खसीबोकातर्फ, कुखुरातर्फ, बंगुरतर्फका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष तथा सदस्य लगायत जेष्ठ महिला नागरिकलाई दोसल्ला सहित खादा र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै जेहेन्दार तथा गरिब दुई विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रमको संचालन संस्थाकी सचिव सीमा श्रेष्ठले गर्नु भएको थियो ।