शनिबार, जेष्ठ २०, २०८०

Ratopress

Advertisment

SKIP THIS

कानुनी विवाह गरेका एक जोडीले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १ लाख खर्च गर्ने

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित ओल्ड एभरेष्ट होटलको हलमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ विभिन्न संचार माध्यममा आबद्ध पत्रकार तथा संचारकर्मीहरूको मात्र उपस्थिति थियो । ब्यानरमा लेखिएको थियो “गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन” । त्यो कुनै राजनितीक दलको नभई त्यो थियो नवदम्पत्तिले आयोजना गरेको पत्रकार सम्मेलन ।

त्यस हलमा कुनै किसिमको तडकभडक थिएन । त्यो कार्यक्रम दिउँसो ३ बजेको हो । कार्यक्रमको आयोजना गर्ने अरू कोही नभई नवदम्पत्ति थिए अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं. ११ का गणेश बेल्बासे संगम र सोही नगरपालिका वडा नं. १० की सुमित्रा भण्डारी ।

झट्ट हेर्दा सामान्य पोशाकमा रहेका ति जोडी विवाहित जस्ता देखिदैन्थे । दुलहीको सिउँदोमा सिन्दुर थिएन, न हातमा चुरा न घाँटीमा माला । लामो समय प्रेम सम्बन्धमा रहेका ति जोडीले हिजो शुक्रबार दिउँसो २:३० बजे अर्घाखाँची जिल्ला अदालतबाट विवाह गरेका छ्न ।

विवाहकै सोही दिनमा नवदम्पत्ती जोडीले पत्रकार सम्मेलन गरी साविक सिद्धारामा रही एसईई (कक्षा १० पास) गरेका र आर्थिक अवस्था कमजोर भएका गरिब परिवारका जेहेन्दार विद्यार्थीहरूलाई सहायता होस भनी भड्किलो रुपमा हुने परम्परागत विबाहमा लाग्ने खर्च गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग घोषणा गर्ने निधोगरी उनीहरूले कार्यक्रमको आयोजना गरेका थिए ।

उनीहरूले आफ्नो विवाहको भड्किलो खर्च नगरी करिव रु. १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन । बिबाहमा भोज भत्तेर खुवाएर सक्नु भन्दा वालवालिकाको शिक्षामा सहयोग गर्ने भन्दै बेल्बासे र भण्डारीले शिक्षा लगानी गर्ने निर्णय गरेको बताएका छन् । उनीहरुले सिद्वारामा रहेको जनजागृति माविको अक्ष्य कोषमा रु. ५० हजार र बाँकी ५० हजार बाँकी माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने बताएका छन । दुबै जनाको चाहाना अनुसार बिबाहमा लाग्ने खर्च शिक्षा क्षेत्रमा लगानी गर्ने भएका हुन ।

पछिल्लो समय विवाह खर्चिलो र भडकिलो भैरहेको अवस्थामा यो जोडिले विवाहमा लाग्ने खर्च शिक्षा क्षेत्रमा लगानी गरेर उदाहरणीय जोडी बनेको पत्रकार सम्मेलनमा सहभागीहरूले बताएका छ्न ।

जिल्लाको शितगंगा नगरपालिका वडा नं. ११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा (कोट म्यारिज) को दर्ता पछि पत्रकार सम्मेलन मार्फत सोहि रकम घोषणा गरेका हुन् ।

दुबै जना शिक्षण पेसामा गर्ने भएकाले दुर्गम भनेर चिन्ने शितगंगा नं. १० सिद्धारामा रहेको जनजागृती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न परिवारका विधार्थीहरुका लागि अक्ष्यकोषमा ५० हजार सहयोग गर्ने र वडा नं. ९ र ११ मा रहेका विपन्न परिवारका बालबालिका ५० हजारको शैक्षिक सामग्री वितरण गर्ने गणेश बेल्बासेले बताए । भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ सोहि रकमको घोषणा गरिएको सुमित्रा भण्डारीको भनाई छ ।