शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेताहरू व्यक्तिगत इच्छा पूर्ति तिर लागे, जनताको सिपाही बन्न सकेनन् : जनार्दन शर्मा

नेताहरु व्यक्तिगत इच्छातिर लाग्दा स्वयम व्यक्ति र पार्टीलाई समेत क्षति पुगेको उनले बताएका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले रुकुममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले संविधानले प्रदान गरेको अधिकार जनताले प्रयोग गर्न पाउनु पर्ने वातावरण बन्नु पर्ने बताए । उनले भने, ‘संविधानमा लेखेर मात्रै अधिकार नआउने भएकाले कार्यान्वयन गर्नका लागि जनताको इच्छा र आवश्यकता अनुसार काम गर्नुपर्छ ।’उनले तीन तहका सरकारमा रहेका जनप्रतिनिधिले जनताको इच्छा र आवश्यकता अनुसार काम गरे मात्र मुलुकमा विकास र समृद्धि सम्भव हुने बताए । उनले भने, ‘नेताहरु व्यक्तिगत इच्छा र चाहनामा लाग्दा पार्टी र व्यक्तिलाई ठूलो क्षति हुने गरेको छ । समाजको विकासका लागि जनताको आलोचनालाई स्वीकार गर्दै जनताको सिपाही भएर नेतृत्वले काम गर्नुपर्छ ।’

उनले समृद्ध नेपाल निर्माणका लागि दैनिक विदेशिने युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । स्थानीय उत्पादनको प्रयोग गरेर आर्थिक विकास गर्नका लागि युवा शक्तिलाई प्रयोग गर्नुपर्ने बताए ।

मंगलबार रुकुम पश्चिमको आठविसको नगरपालिकामा निर्माण गरिएका विभिन्न पाँच वटा उद्योग उद्घाटन तथा निरीक्षण गर्दै पूर्वमन्त्री शर्माले यहाँको कच्चा पदार्थको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्ने बताएका हुन् ।

यहाँ स्थापना भएका वाइन, मसला, पलाइउड, गार्मेन्ट र ड्राइफुड उद्योगको उद्घान गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले सीप र क्षमता भएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

देश विकासका लागि युवालाई रोजगारी प्रदान गर्न अहिलेका तीन तहका सरकारले योजना बनाएर काम शुरु गरेको उनको भनाइ थियो । सरकारले बेरोजगार युवालाई गाउँमै रोजगारीको सिर्जना गर्नका लागि विशेष योजना बनाएर प्राप्त बजेटको व्यवस्था समेत गरेको बताएका छन् ।

यथास्थितिमा परिवर्तन नहुने भएकाले समाजको परिवर्तनका लागि आर्थिक विकासको निरन्तर सुधार हुनुपर्ने उनले बताए । देशको विकासका लागि भ्रष्टाचार ठूलो समस्याको रुपमा रहेकाले जनताको खबरदारी आवश्यक हुने र कर्मचारी प्रशासनले नीति नियमअनुसार काम गर्नुपर्ने बताए ।