शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ मा सार्वजनिक सुनुवाई तथा वडा परिषद सम्पन्न

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ ले सार्वजनिक सुनुवाई तथा वडा परिषद सम्पन्न गरेको छ । हिजाे एक कार्यक्रमकाे अायाेजना गरी वडाले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । वडाले वडाबासीहरु लाई पुराएका सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

कार्यक्रमबाट जनगुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, वडाका वार्षिक कार्यहरुको मूल्यांकन गर्नु, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा नम्बर ९ का अध्यक्ष भिम केसीले बताउनु भयो । कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ मा भएका काम र योजनाहरूको विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा वडा सचिव हेमन्त कुमार भट्टराईले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित वडा बासीहरुले खानेपानीको समस्या, बाटो, कृषि, स्वास्थ्य, शिक्षा लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । वडा बासीहरुको प्रश्नलाई वडा अध्यक्ष भिम केसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष केसीले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताउनु भयो । वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा मेटेको बताउनु भयो । उहाँले वडाको विकासको लागि आफु सदैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताउनु भयो । अध्यक्ष केसीले वडाले विकासका कामलाई तिव्रता दिईरहेको बताउनु भयो । पहिलो स्थानिय तहको निर्वाचन ५वर्ष सम्पन्न भएको र दोस्रो स्थानिय तहमा निवार्चन पछि सुरु भएको भन्दै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाकी रहेको बताउनु भयो । नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष केसीले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा वडा परिषद भेला पनि सम्पन्न भएको छ । परिषदमा योजना छनौटका क्रममा जनताले सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिन सुझाव दिएसँगै अा.व. ०७९/८० मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएको छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिने बताइएकाे छ ।

कार्यक्रममा वडा अध्यक्ष भिम केसीले आगामी योजनामा दिर्घकालिन खालका योजनामा जोड दिने बताउनु भयो । प्रमुख प्राथमिकता सडक, कृषि, पशु, शिक्षा, स्वास्थमा जोड दिने उहाँको भनाई रहेको छ । कार्यक्रममा वडाका प्रतिनिधी, पार्टीका प्रतिनिधी, विभिन्न टोलका टोल प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष भिम केसीको अध्यक्षता र हेमन्त कुमार भट्टराइकाे संचालनमा सम्पन्न भएको थियो ।