शनिबार, अशोज ६, २०८०

Ratopress

Advertisment

SKIP THIS

राजपत्रमै छापियो अनुमोदन भएको ‘एमसिसी सम्झौता’

काठमाडौं । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।  लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए ।

सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो । नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ ।

ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रीडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्ने विषय सो परियोजनाको उद्देश्यका रुपमा रहेको छ । -news24nepal