शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

देशभरको बाढीपहिरो : ज्यान गुमाउने ३१ पुगे, ४३ सम्पर्कविहीन

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर देशका विभिन्न जिल्लामा ३१ जनाको ज्यान गएको छ ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । उहाँले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताउनुभयो । अहिलेसम्म विभिन्न जिल्लाबाट सात सयको उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।