शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बझाङको थलारामा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ : थलारा गाँउपालिका ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन्। गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताए। उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताए। – रासस