शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिका पसलहरुमा गरिएको अनुगमनमा छ्याप्छ्याप्ती भेटिए म्याद गुज्रिएका खाद्य सामग्री, अनुगमन टोलीले गर्‍यो नष्ट

शिव खनाल/ रातो प्रेस डटकम ।

कपिलवस्तु : बुद्धभूमि नगरपालिकाका बजार क्षेत्रमा अखाद्य वस्तु बिक्रीका लागि राखेको भेटिएको छ । म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्न नपाइने भए पनि बजारमा यस्ता सामग्रीहरू जताततै भेटिएका हुन् ।

व्यापारीहरूले स्थानीय प्रशासन र उपभोक्ताको आँखा छलेर अखाद्य वस्तु बिक्री गरिरहेका छन् । हिन्दु नेपालीहरूको मुख्य चाड दसैं र तिहार नजिकिंदै गर्दा नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएपछि बजारमा अखाद्य वस्तु फेला परेका हुन् ।

बुद्धभूमि नगरपालिकाले थालेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरू पनि बिक्रीका लागि राखेको भेटिएको हो । पसलमा म्याद गएका सामानहरू पनि बिक्रीका लागि राखेको फेला परेको हो । अनुगमन टोलीले यस्ता सामानहरू जफत गरेर नष्ट गर्ने अभियान थालेको छ । चाडपर्व नजिकिंदै जाँदा बजारमा अनुगमन हुन थालेको छ । नगरको अनुगमन टोलीले सोमबार बुद्धभूमि – ९ स्थित ईमिलिया र डुमराका गरी १० पसलहरूमा अनुगमन गरेको छ । सो क्रममा म्याद सकिएका सामग्रीहरू पनि बिक्रीका लागि राखेको फेला परेको छ ।

दैनिक उपभोगमा आउने पेय पदार्थ मिठाई, चक्लेट, विस्कुट, सुजी, दालमोट, अचार, क्रिम पेय पदार्थ, दालमोठ, बिस्कुट, अचार, सुर्ती जस्ता अखाद्य सामग्रीहरु पनि फेला परेको छ ।

म्याद नाघेका वस्तुहरू पनि बिक्रीका लागि राखेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ । साथै आगामी दिनमा यस्ता अखाद्य वस्तुहरू बिक्री नगर्न समेत टोलीले कडा चेतावनी दिएको छ । यस्तै सुर्तिजन्य पदार्थ राजस्व छलेको र स्टिकर नै नटाँसेको भेटिएपछि जलाइएर नष्ट गरिएको छ ।

बजार अनुगमनको बेलामा दैनिक उपभोग्य वस्तुमध्ये धेरैजसो बालबालिकाहरूका लागि उपभोग हुने वस्तुहरू अखाद्य भेटिएको हो ।

नगरभित्र संचालित पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु बेचविखन भइरहेको भनेर नगरपालिका आएको नागरिकका गुनासाे र चासोको आधारमा गरिएको अनुगमनको क्रममा आज अनुगमन गरिएका सबै पसलहरुमा त्यस्ता सामग्रीहरु फेला परेको अनुगमन टोलीका संयोजक विजय भुसालले जानकारी दिनु भयो । उहाँले उपभोक्ताहरुलाई कुनै सामाग्री खरिद गर्दा सामग्रीको म्याद हेरेर मात्र खरिद गर्न आग्रह गर्नुभयो । अखाद्य सामाग्री फेला परे नगरपालिका वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै उपभोक्ता अधिकारको बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिनु भयो ।

प्याकेजिङ्ग गरेका खाद्य सामाग्रीहरुनै म्याद नभएको पाइएकाले ति सामागीहरुको प्रयोग गर्ने बालबालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर परिरहेको स्वास्थ्य शाखाका सह-प्रमुख गोकर्ण अर्यालको भनाइ छ । बालबालिकाहरुले पसलमा सामाग्री खरिद गर्दा म्याद नहेर्ने भएकाले यस कुरामा अभिभावक एवम् सरोकारवाला निकाय एकदमै गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय गोरूसिङ्गेका प्रहरी नायब निरिक्षक विष्णु प्रसाद खनालले दसैं र तिहार जस्ता ठूला पर्वहरू नजिकिंदै गर्दा आफूहरूले बजार अनुगमनलाई तीव्र बनाएको बताउनु भयो । चाडपर्वको बेलामा व्यवसायीहरूले अखाद्य वस्तु बिक्री गर्ने र सामानको कालोबजारी गर्ने भएकाले अनुगमनलाई कडाई गरिएको उहाँको भनाइ छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो कोहीलाई पनि कडा कारबाही गरीने चेतावनी दिनु भयो ।

त्यस्तै अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका र अखाद्य वस्तु बिक्रीमा नराख्न निर्देशन दिएको छ । टोलीले पहिलोपटक सचेत गराएको र दोस्रो पटक अनुगमनमा यस्तै अखाद्य वस्तु भेटिए कानुनी कारबाहीको प्रक्रियामा लैजाने बताएको छ ।

अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल, बुद्धभूमि उद्योग वाणिज्य संघ प्रतिनिधि शोभाखर बन्जाडे, उपभोक्ता हित संरक्षक ईन्द्रमणी पौडेल, पत्रकार सुशिल गैरे, शिव खनाल, प्रहरी हवल्दार अनिल थापा, प्रहरी जवान चन्द्र बहादुर लम्साल लगाएतको सहभागिता रहेको थियो ।