शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा आज बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूले धर्ना सहित ज्ञापनपत्र बुझाउने

रातो प्रेस संवाददाता, ठाडा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका भित्र संचालनमा आएका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुले आज बुधबार धर्ना सहित ज्ञापनपत्र बुझाउने भएका छन् ।

बालविकास शिक्षक तथा विद्यालय कर्मचारी समितिको आयोजनामा सरकारले वृद्धि गरेको तलब पाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बालविकास शिक्षक संघर्ष समिति शितगंगा अध्यक्ष गीता विश्वकर्माले रातोप्रेसलाई बताउनु भयो ।

उक्त ज्ञापनपत्र शितगंगा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघर्स समितिको सचिव गीता क्षेत्रीले जानकारी गराउनु भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको मासिक तलब न्युनतम १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेकाले कार्यान्वयन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउन लागिएको संघर्ष समितिको लुम्बिनी प्रदेश सदस्य गीता पौडेलले बताउनु भयो ।

चालु आर्थिक वर्षको २ महिना बितिसक्दा पनि अहिलेसम्म सरकारले वृद्धि गरेको तलब-भत्ता पाउने विषयमा आवश्यक प्रक्रिया अगाडि नबढेको भन्दै यसको कार्यान्वयनका लागि आफूहरुले ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र बुझाउन लागेको पौडेलको भनाई छ ।

नेपालीहरुको महान् पर्व दसै नजिकिँदै आएको अवस्थामा स्थानीय सरकारले समेत आफ्नो दायित्वभित्र पर्ने तलब निकासा गरी विद्यालयको तल्लो तहमा कार्यरत शिक्षक तथा कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिन अनुरोध गरिएको विद्यालय कर्मचारी संघर्ष समिति सदस्य शिवु अधिकारीले बताउनु भयो ।

यदि अहिलेकै अवस्था कायम रहेको खण्डमा सम्पूर्ण बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु थप आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन ।

दुवै तहका संघर्ष समितिले शितगंगा नगरपालिका ठाडामा हुने धर्ना कार्यक्रममा उपस्थित हुन नगरमा कार्यरत सम्पुर्ण बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई आव्हान गरेको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चालु वर्षदेखि लागू हुनेगरी विद्यालय तहमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीको मासिक तलब १५ हजार पुर्‍याइने घोषणा गरेको थियो । विद्यालयको तल्लो तहमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीले अधिकांश समय विद्यालयलाई दिए पनि न्युन तलबमा काम गर्दै आइरहेका छन् ।