घरी वारि सम्झन्छु त घरी पारी सम्झन्छु
आफूलाई जिन्दगीको एक सवारी सम्झन्छु ॥
मान्छे भए पछि सत्य बोल्नुपर्छ, सत्य गर्नुपर्छ
असत्यको विरोध गर्नुलाई इमानदारी सम्झन्छु ॥
राष्ट्रघातीहरूको स्वेच्छाचारी प्रवृत्तिले देश रुदा
नेपाल आमालाई नै गम्भीर बिमारी सम्झन्छु ॥
गाउँघर छाडेर सहर पसियो सुखको खोजी गर्दै
घरले खान दिएन उही गाउँको भकारी सम्झन्छु ॥
भ्रष्टहरूको माझमा सज्जनको कुरा कोही सुन्दैन
त्यसैले सज्जन हुनुलाई नि धर्तीको भारी सम्झन्छु ॥
बाबुराम पाण्डे
शितगंगा – १०, अर्घाखाँची