शुक्रबार, अशोज १, २०७८

बुद्ध यशोधरा सामुदायिक वन समितीद्वारा लाखौं रकम अनियमितता (भिडियाे सहित)

 

राताे प्रेस डटकम, कपिलवस्तु ।

पहिले भिडियाे हर्नुहाेसः

सामुदायिक वनमा आर्थिक अनियमितताको विषय कुनै नौलो समाचार त होइन । वन समिति र कर्मचारीको मिलोमतोमा लाखौं रकम अनियमितता गरेका थुप्रै समाचारहरु विभिन्न संचार माध्यममा आएका हुन्छन ।
कपिलवस्तुको एक सामुदायिक वनमा वनका पदाधिकारीले व्यापक भ्रष्टचार गरेको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन ।

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ गब्दहवा स्थित बुद्ध यशोधरा सामुदायिक वनका पदाधिकारीले विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरेको विषय बाहिर आएको छ ।
स्थानीय उपभोक्ताहरुबाट पटक पटक गुनासो आएपछि रातो प्रेस मिडियाले उक्त बुद्ध यशोधरा सामुदायिक वनबाट मिति २०७७।१२।०९ गते सूचना माग गरेको थियो । सूचना माग भएपछि स्थानीय युवाहरुले सोही सूचनाका आधारमा सामुदायिक वन समितिले घोटाला गरेको विषय बाहिर ल्याएका छन ।

आर्थिक वर्ष २०७४।७५, २०७५।७६ र ०७६।७७ मा सामुदायिक वनले गरेको अडिट रिपोर्ट अनुसार केही शीर्षकमा कामै नभई खर्च देखाइएको विषय यतिबेला चर्चामा रहेको छ । सोही विषयलाई लिएर स्थानिय उपभोक्ताहरुले आम भेलामार्फत आय व्यय आम भेलामा सार्वजनिक गर्न माग गरेका छन । बुद्ध यशोधरा सामुदायिक वन समितीले विभिन्न शिर्षकमा फर्जि बिल बनाई अनिमितता गरेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका हुन ।

आर्थिक वर्ष २०७४।०७५ मा वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, सालको विउ रोपाई खर्च १ लाख ५१ हजार ५ सय, काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने रकम खर्च १२ लाख १९ हजार ९ सय ८०, फायरलाईन सफाई ४ प्लट खर्च ६ लाख ३५ हजार, प्लट सफाई खर्च ७ लाख २९ हजार, बाटो ग्राबेल खर्च ८ लाख ९६ हजार, माटो पटान खर्च १ लाख ९१ हजार ७ सय लगाएतका शिर्षकहरुमा भएको खर्च बढी देखाई रकम अनियमितता गरेको स्थानिय उपभोक्ताहरुले रातो प्रेसलाई बताएका छन ।

त्यस्तै आर्थिक वर्ष २०७५।०७६ मा बाटो निर्माणका लागि २४ लाख ८२ हजार ३ सय १०, वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, अवलोकन भ्रमण खर्च २ लाख ५० हजार, काठ दाउरा संलकन (०७४।७५) खर्च ८ लाख ७० हजार ५ सय ५२, काठ दाउरा संलकन (०७५।७६) खर्च २३ लाख ९९ हजार १ सय ७५, प्लट सफाई खर्च ८ लाख ६४ हजार, अग्नी रेखा खर्च ७ लाख १४ हजार रकम बढि देखाई अडिट गरीएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६।७७ मा काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने खर्च २३ लाख ९९ हजार १ सय ७५, बाटो निर्माणको भुक्तानी दिनुपर्ने खर्च २१ लाख ७६ हजार ५ सय ८, अद्दकज्ञ कटान मुछान खर्च ५ लाख ६७ हजार, अज्ञकज्ञ कटान मुछान खर्च २० लाख ७० हजार ७ सय ६५, प्लट सफाई खर्च २ लाख ४० हजार ९ सय ७५, तारबार लेबर खर्च ९९ हजार ७ सय ५०, वन हेरालुको तलब खर्च ४ लाख ३२ हजार, तार खरिद खर्च ३ लाख ४५ हजार ५ सय ३९, झाँडी सफाई खर्च २ लाख ३९ हजार ४ सय लगाएतका विभिन्न शिर्षकहरुमा अनिमितता गरेको अाराेप छ ।

साही विषयलाइ लिएर उपभोक्ताहरूले  हिसाब किताब देखाउन माग गरेका छन । वनका पदाधिकारीद्वारा विभिन्न शिर्षकमा खर्च देखाएर अनिमितता गरेको भन्दै उपभोक्ताले आय व्यय सार्वजनिकका लागि माग गरेका हुन ।

सबैभन्दा बढी घोटला भएका शिर्षकहरुः

वन हेरालुको तलब (आ.व. ०७४।७५)
आर्थिक वर्ष २०७४।७५ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ५ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख २० हजार हुन्छ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार देखाईएको छ । कोषाध्यक्ष सशी अधिकारीले भने १२ हजारका दरले रकम भुक्तानी गरेको बताएका छन ।

कार्यालय सहयोगी (आ.व. ०७४।७५)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगी आफुले उक्त रकम अहिले सम्म नपाएको रातो प्रेसको रिपोर्टमा बताउँदै गुनासो पोखेकी छिन । यस शिर्षकमा पनि बन समितिले दिएको दाबी गरेको छ ।

बाटो निर्माण (आ.व. ०७५।७६)
आर्थिक वर्ष २०७५।०७६ मा सामुदायिक वनले बाटो निर्माणका लागि अडिट रिपोर्टमा २४ लाख ८२ हजार ३ सय १० खर्च भएको देखाएको छ । जुन बाटो आर्थिक वर्ष ०७५।७६ मा नदि जन्य पदार्थ निकासीका लागि बुद्धभूमि नगरपालिकाबाट अगिया खोलामा ठेक्का हुँदा खडका काष्ठ तथा फर्निचर सप्लार्यले बढी रकम कबोल गरेको थियो । सोही क्रममा स्थानियको माग अनुसार उक्त ठेक्का हाता पार्ने ठेकेदारले बाटो निर्माणको लागि लागानी गरेको ठेकेदार राजु खड्काले रातो प्रेसको रिर्पोटमा बताएका छन । उनका अनुसार बाटो निर्माणमा करिब १५ लाख लागेको बताएका छन । तर सोही बाटो निर्माण बन समितले निर्माण गरेको भन्दै रातो प्रेसको रिपोटमा बनका अध्यक्ष गिरीधारीलाल थारु, सचिव सुसिला राना र कोषाध्यक्ष सशी अधिकारीले अपुष्ट दाबी गरेका छन ।

वन हेरालु तलब (आ.व. ०७५।७६)
त्यस्तै आर्थिक वर्ष ०७५।७६ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार कसरी पुग्यो त ।
कार्यालय सहयोगी तलब (आ.व. ०७५।७६)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगीलाई उक्त रकम दिईएको छैन ।

वन हेरालु तलब (आ.व. ०७६।७७)
त्यस्तै आर्थिक वर्ष ०७६।७७ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ४ लाख ३२ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ४ लाख ३२ हजार कसरी पुग्यो त ।

यसरी हेर्दा माथिका ति शिर्षकमा खर्च बढी देखाएको पाइएको छ । स्थानिय उपभोक्ताहरुको भनाई अनुसार सो समितिले ४ वटा शिर्षकमा मात्रै ३० लाख भन्दा धेरै हिनाबिना गरेको भन्दै हाल सम्म करोड भन्दा बढी रकम घोटला हुनसक्ने अनुमान गरेका छन । तर वन समितिका पदाधिकारीले भने आफ्नो गल्तीलाई स्वीकार्न मानेनन बरू ढाकछोप गर्न तिर लागे ।

सार्वजनिक सुनुवाईमा अडिट रिपोट लुकाईएको उपभोक्ताहरूको आरोप छ भने अर्को तर्फ नक्कली बिल बनाई लाखौँ रकम हिनाबिना पारेको समेत उपभोक्ताको गुनासो छ ।