आइतवार, साउन १७, २०७८

आँखा अस्पतालद्धारा सवा दुई लाख बराबरको स्वास्थ्य सामग्री वितरण

कपिलवस्तु । कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्ट को संक्रमण फैलिन नदिन तथा यसको रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ कपिलबस्तुको एक आँखा अस्पतालले जिल्लाका १० वटा स्थानीय निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बे को आर्थिक सहयोगमा कपिलबस्तु जिल्लाका स्थानीय निकायहरुमा २ लाख २५ हजार ४ सय ३५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नेपाल सरकारका स्थानीय निकायहरु स्वास्थ्य सामग्री खरिद गर्न आफु स्वयं सक्षम भएता पनि यो कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा नेपाल सरकारलाई केही मात्रामा भए पनि राहत पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भएको छ । यसअघि कपिलबस्तु जिल्लाका ४ वटा गाउँपालिकालाई सर्जिकल मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बितरण गएिकोमा दोस्रो चरणमा जिल्लाका ६ वटा नगरपालिकालाई सोही प्रकारको स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

जिल्लाको कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश चन्द्र गुप्ताले ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनीटाइजर बुभ्mनु हुदै यदि कसैले स्वेच्छिक रुपमा केही सहयोग गर्न खोज्छ भने उक्त सहयोगलाई हामीले सहर्ष ग्रहण गर्नु÷स्वीकार्नु पर्ने बताउँदै कोरोना भाइरस कोभिड १९ को यो महामारीको समयमा स्वतःस्फूर्त रुपमा कपिलबस्तु नगरपालिकालाई यस प्रकारको स्वास्थ्य सामग्री प्रदान गर्नु भएकोमा दातृ निकाय एन.ए.बी.पी.नर्बे र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज परिवारलाई हार्दिक धन्यबाद दिनु भयो ।

त्यसैगरी यस्तो संकट र कठिन परिस्थितीका बाबजुद पनि कोरोना भाइरस सँगको लडाइमा हातेमालो गर्न आउनु भएकोमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले खुशी व्यक्त गर्नु हुदै सहयोगको लागि दातृ निकाय र अस्पताल दुबैलाई धन्यबाद व्यक्त गर्नु भयो । बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु तथा त्यस नगरपालिकाका स्वास्थ्य संयोजक खगराज पौडेलले संयुक्त रुपमा ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर ग्रहण गर्नु हुदै स्वास्थ्य संयोजक पौडेलले आगामी दिनहरुमा पनि दातृ निकाय तथा अस्पतालबाट यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

यसैगरी बुद्धभुमी नगरपालिका लाई पनि ४ हजार थान मास्क र १० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले नगर प्रमुख केशब कुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्नु हुदै नगर प्रमुख श्रेष्ठले अस्पताल तथा दातृ निकाय दुबैप्रति आभार तथा धन्यवाद प्रकट गर्नु भयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल र स्वास्थ्य संयोजक खुबीराम खनालको पनि उपस्थिती रहेको थियो ।

स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा शिवराज नगरपालिकाद्धारा संचालित आधारभुत स्वास्थ्य सेवा अस्तपाल,शिवराज ५,चन्द्रौटालाई पनि ६ हजार थान सर्जिकल मास्क,१५ लिटर सेनीटाइजर र १० थान पी.पी.ई. सेट हस्तान्तरण गरिएको छ । शिवराज नगरपालिकाका स्वास्थ्य संयोजक चुडामणी भट्टराई र आभारभुत स्वास्थ्य अस्पतालका चिकित्सक डा.महेश गुप्तालाई संयुक्त रुपमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल अवस्थित रहेको कृष्णनगर नगरपालिकालाई पनि ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराई लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै बहादुरगंज आँखा अस्पतालको नजिकै रहेको शिवराज अस्पताललाई पनि २ हजार थान सर्जिकल मास्क,५ लिटर सेनिटाइजर र १० थान पी.पी.ई सेट हस्तान्तरण गरिएको छ । शिवराज अस्पतालका कार्यालय प्रमुख डा.मुकेश चौधरीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भएको छ ।

कपिलबस्तु जिल्लाका ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय निकायलाई सर्जिकल मास्क,सेनिटाईजर र पी.पी.ई सेट लगायतका स्वास्थ्य सामग्री वितरण गर्नको लागि दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ,नर्बेले आर्थिक सहयोग उपलब्ध गराएको थियो । दातृ निकाय,नर्बे कै सहयोगमा यस्तै प्रकारको स्वास्थ्य सामग्री दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालले पनि त्यहाँका स्थानीय निकायहरुलाई यस अघि नै हस्तान्तरण गरिसकेका छन् । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माको नेतृत्वमा स्वास्थ्य सामग्री वितरण गर्न गएको टोलीमा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ.पि.डी ईन्चार्ज ओपेन्द्र चन्द,लेखा सहायक कमल चौधरी र मधु खड्का लगायतको सहभागिता रहेको थियो ।