बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजदेखि सुरु भयो नयाँ शैक्षिक सत्र

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो ।

कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने बताउनुभयो । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्नेछन् ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ । विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो । यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश गरेको थियो ।

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ ।