बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो । विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ ।

सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको कार्यविधिमा शिक्षकले गरेका कतिपय मूल्याङ्कनका कारण आलोचना गरिएको थियो ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालयले आन्तरिक मूल्याङ्कनबाट एसईई परीक्षा गर्ने नीतिगत निर्णय गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पाठ्यक्रम तथा विशिष्टीकरण तालिकाअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसक्ने निचोड निकाल्दै सरकारले यस खालको नीतिगत परिवर्तन गरेको थियो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।