मङ्लबार, असार १, २०७८

मास्क धोएर लाउन मिल्छ कि दिनदिनै फेर्नुपर्छ ?

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ।

सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।

कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो।

हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो ?

यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ।

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले गत वर्ष सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका थिए।

मास्कबारे उनीहरूबीचको सवाल-जवाफ कोरोनाको दोस्रो लहरले गाँजेका बेला पुनः सान्दर्भिक देखिएको छ।

सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं।

डा. सुवेदीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन।

‘हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन। यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’ उनले भने।

कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु ‘सामाजिक रूपमा अनुत्तरदायी व्यवहार’ भएको डा. सुवेदीले बताए।

‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउनु हुन्छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन,’ उनले भने, ‘मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन।’

यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने उनले सुझाए।

हेर्नुस् सर्जिकल मास्क प्रभावकारी बनाउने उपायः

‘मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन?’

डा. सुवेदीले भने, ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन।’

उनले अगाडि भने, ‘यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।’

धुन नमिल्ने भए के आज लगाएको मास्क भोलि पनि लगाउन मिल्छ त?

त्यो पनि मिल्दैन।

यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ। त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।

त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ।

धुन पनि नमिल्ने, भोलिपल्ट फेरि लगाउन पनि नमिल्ने भए के अब हरेक दिन नयाँ मास्क किनेर लगाउनु? त्यो त कसरी साध्धे होला र?

यसमा डा. सुवेदीको जवाफ छ, ‘धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ। आज एउटा मास्क लगाउने, त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्ने। भोलि फेरि अर्को लगाउने। त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्ने। यसरी चार दिनसम्म चारवटा छुट्टाछुट्टै मास्क लगाउने।’

उनले अगाडि भने, ‘पाँचौं दिनमा पहिलो दिन लगाएको मास्क लगाउने। यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ। र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सक्छौं।’

यसबीच मास्क च्यात्तियो, प्वाल पर्‍यो वा मैलियो भने त्यसलाई सिलाउने वा टाल्ने होइन, बरू फेरिहाल्नुपर्छ। सिलाएको, टालेको मास्कले पनि हामीलाई भाइरसबाट जोगाउँदैन।

सँगसँगै, आफूले खोक्दा वा हाच्छियूँ गर्दा थुकका छिटाले मास्कको भित्री भाग भिजेको छ भने पनि अर्को फेरिहाल्नुपर्ने उनी बताउँछन्।

पछिल्लो समय विदेशतिर र नेपालमा पनि कपडाको मास्क सिलाएर लगाउने चलन बढेको छ।

मास्क बनाउँदा दुई खालका कपडा प्रयोग गर्नुपर्छ। कटन र फलाटिनका कपडा बढी प्रचलित छन्। यसरी दुई किसिमका कपडाको पत्र राखेर बनाइएको मास्क सुरक्षित हुने डा. सुवेदीले जानकारी दिए।

‘कपडाको मास्क धुन मिल्छ। धुँदा त्यसको फेब्रिक बिग्रँदैन,’ उनले भने, ‘मास्कमा दुई किसिमका कपडाको पत्र प्रयोग भएको छ भने त्यसले एक किसिमको बिजुलीको तरंग पैदा गर्छ। त्यस्तो मास्कको बीचको तहमा बिजुली हुन्छ, जसले भाइरस छिर्न दिँदैन। यस्तो मास्क प्रभावकारी हुन्छ।’

मान्छेले आफूलाई लक्षण नदेखिएको भए पनि मास्क लगाउन किन जरूरी छ भनेर उनले चर्चा गरेका छन्।

श्वासप्रश्वासका क्रममा मान्छेको नाक–मुखबाट निस्कने थुकका छिटाहरूबाटै यो भाइरस सर्ने हुँदा मास्क लगाउनु जरुरी भएको उनी बताउँछन्।

(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७७, भदौ ८ मा प्रकाशित थियो।)