मङ्लबार, असार १, २०७८

भूमिकास्थान नगरपालिकामा धमाधम वार्षिक परीक्षा सञ्चालन

रातोप्रेस संवाददाता, अर्घाखाँची ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिमले गर्दा नेपालभर विद्यालयको पठनपाठन तथा पूर्वनिर्धारित परीक्षाहरु स्थगित गर्ने केन्द्रको निर्देशन विपरीत स्थानीय तहको स्वायत्तता प्रयोग गर्दै अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले आधारभूत तह कक्षा (१-५) को परीक्षा सञ्चालन गरेको छ ।

हिजो मात्रै जिल्लाभरका चार पालिकाहरु ( शितगंगा, छत्रदेव, मालारानी र पाणिनी ) ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरु कोभिड-१९ को हटस्पोट बन्न सक्ने भन्दै सम्पूर्ण शिक्षण सिकाइ क्रियाकलापहरु तथा परीक्षा स्थगन गरेका थिए । तर भूमिकास्थान नगरपालिकाले तोकिएको समयमै परीक्षा सक्नुपर्ने आवश्यकता औल्याउँदै परीक्षाहरु सञ्चालन गरेको छ ।

यस अघि नगर कार्यपालिकाको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको वैशाख १० गते बसेको बैठकले बैशाख १४ गतेदेखी १९ गते सम्म कक्षा १-५ सम्मको परीक्षा गराउने निर्णय गरेको थियो ।

तर नेपाल सरकार तथा सिसिएमसीको निर्णय बमोजिम चौतर्फी दबाबका कारण ६ दिनमा सक्ने भनिएको परीक्षा प्रत्येक दिन दुई/दुई विषय गरेर विद्यालयहरूले वार्षिक परीक्षा कार्यान्वयनमा ल्याएका छन ।