शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

२२ वर्ष बितिसक्दा पनि गच्छे–भालुबाङ सडकको ट्रयाक खुलेन, चुनावमा सधै बन्याे विकासकाे नारा

gachchhe_bhalubang sadak
फाइल तस्विर
विरेन्द्र केसी, अर्घाखाँची ।
दाङबाट अर्घाखाँची सदरमुकाम जोड्ने गच्छे–भालुबाङ सडक निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि ट्र्याक खुल्न सकेको छैन । वार्षिक बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाही र बजेट दुरुपयोग भएका कारण काममा ढिलाइ भएको हो । ६४ किलोमिटर सडकमध्ये अझै १० किलोमिटर खण्डको ट्र्याक खुल्न बाँकी छ ।  सदरमुकामदेखि गच्छे बजारसम्म गच्छे–भालुबाङ सडक नामकरण गरी काम सुरु भएको २०५६ बाटै हो । बर्सेनि बजेट परेर काम भइरहन्छ । तर २ किमि लामो उक्त खण्ड अहिलेसम्म अस्तव्यस्त छ । अर्घाखाँचीको भूगोललाई पनि समेटेर दाङमा लुम्बिनी प्रदेशको राजधानी प्रस्ताव भएपछि गच्छे–भालुबाङको बाटोमा चासो हुन थालेको छ ।

एमाले नेता पीताम्बर भुसाल तत्कालीन जिल्ला विकास समितिको सभापति भएका बेला उक्त सडकको नामकरण गरी गच्छे बजारबाट काम सुरु भएको थियो । गच्छेबाट ढिकुरा, धनचौर गाउँसम्म सडक निर्माण गर्न वर्षौं लाग्यो । धनचौरको साप्रे भीरमा जटिल पत्थरसहितको पहरो छेंड्न नसकेपछि बाटो फराकिलो पार्ने काम रोकिएको हो । धनचौर गाउँसम्म मोटरबाटो पुगे पनि त्यहाँबाट पहाड छिचोलेर जलुके गाउँमा सडक जोड्नै वर्षौं लाग्यो । ठूलो भीर भएकाले सडक फराकिलो बनाउन समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ । धनचौरबाट जलुकेको लामातालसम्म ट्र्याक खुलेको छ । लामातालबाट भालुबाङसम्म सडकको रेखांकन नै भएको छैन ।

‘अर्घाखाँचीलाई दाङसित जोड्न सुरु गरिएको सडक हो यो,’ भुसालले भने, ‘बीचमा पत्थरसहितको अप्ठेरो पहाड फोर्न समस्या र गच्छे–भालुबाङ सडकमा परेको बजेट अन्तै तानिएपछि काम रोकिएको हो ।’ पहुँचका भरमा अझै पनि बजेट कटौती गरेर अन्यत्र लगिएको छ । ‘म जिविस सभापति हुँदा जिल्लाका ४२ वटै गाविसमा मोटर पुर्‍याउन र छिमेकी जिल्लासँग सन्धिखर्कलाई जोड्न चारवटा सडक सन्धिखर्क–तम्घास, सन्धिखर्क–प्यूठान खलंगा, घुम्ती–पाल्पा र गच्छे–भालुबाङलाई मुख्य सडकका रूपमा नामकरण गरेको थिएँ । अरू सबै डबल कटिङ भएर ग्राभेलसमेत भए ।’ यसरी बजेट कटौती गर्नु र पछाडि पर्नुको कारण धनचौरदेखि जलुके, लामाताल हुँदै भालुबाङसम्म बस्ती भन्दा चौगुना जंगल क्षेत्र हुनु एवं यस क्षेत्रमा पहुँचवाला नेता नभएकाले ट्र्याक नै नखुलेको उनको बुझाइ छ । ‘मेरै पार्टीका सांसद एवं नेताले मैले मन्त्रालय धाएर परियोजनामार्फत पारेको बजेट पहुँच देखाएर आफ्नो क्षेत्रतिर लगे,’ उनले गुनासो गरे ।

नौमुरे जलविद्युत् परियोजना स्थल नजिकै राप्ती नदीको छेउ लामातालदेखि भालुबाङसम्म घना बस्ती नभएको भन्दै सडक खनिएको छैन । सदरमुकामबाट भालुबाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्वपश्चिम राजमार्ग प्रयोग गर्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको चक्ला, ठाडा अमराईबाट जलुके, जुकेना तामाताल, सिद्धारालगायत गाउँमा मोटर पुगेको छ । ‘संघीय संरचना बनेपछि मुख्यमन्त्रीलाई बजेट पारिदिन बारम्बार अनुरोध गरें, पछिल्लो समय चासो लिनुभएको छ, बजेट पर्ला,’ भुसालले भने ।

सन्धिखर्कबाट ढिकुरा, धनचौर दैनिक गाडी आवतजावत गर्छन् । धनचौर डाँडोबाट यता जलुके र जुकेनासम्म अझै पनि नियमित गाडी गुड्दैनन् । जलुके–लामाताल करिब ४ किमि सडक डबल कटिङ भएको छ । ‘बस्तीभन्दा धेरै जंगल र दुर्गम भएकाले सडक निर्माण मात्रै नभएर राज्यको हरेक सुविधा यस क्षेत्रमा प्रभावकारी छैन,’ शीतगंगा नगरपालिका–७ का वडाध्यक्ष मोहनप्रसाद पन्थीले भने ।

पूर्वाधार विकास कार्यालय सन्धिखर्कका प्रमुख विनोद चौधरी वहुवर्षीय योजनामा परेको गच्छे–भालुबाङ सडकमा सानो बजेटको टुक्रे काम मात्रै भइरहेको बताउँछन् । ‘लामाताल–भालुबाङ ट्र्याक खोल्न र छिट्टै सडक निर्माण सम्पन्न गर्न योजना बनाएर प्रदेश मन्त्रालयमा प्रस्ताव पेश गरें,’ उनले भने, ‘तर प्राथमिकतामै परेन । माग गरे अनुसार बजेट पनि पाइएन ।’ यो सडकको चौडाइ ७ मिटर हो । तर गच्छे–लामातालको केही ठाउँमा मात्रै ७ मिटर फराकिलो पारिएको छ । धनचौरका साप्रे भीरलगायत ठाउँमा पत्थरसहितको पहाड फुटाल्न धेरै बजेट खर्च भएको उनले बताए ।

सडक नभएकै कारण गाउँमा उत्पादित वस्तु नजिकैको भालुबाङ बजारमा सहजै आउन सकेको छैन । ‘भालुबाङ बजार नजिकै छ, त्यहाँ हाम्रा उत्पादन बिक्री गर्न र रासनपानी ल्याउन बाटो भए सहज हुन्थ्यो,’ दमारबेसीका जुनबहादुर पुलामीले भने, ‘नेतालाई बारम्बार अनुरोध गर्दा पनिकसैले सुनेनन् ।’ याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।