शनिबार, बैशाख २५, २०७८

खाेटाङको दिप्रुङमा मौरी पालन सम्बन्धी तालिम

रमन वन, खोटाङ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मौरी पालन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । मौरी पालक कृषकहरुलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तालिम आईतबारबाट याङ्सोलाटारमा सुरु भएको कृषि शाखा संयोजक सर्गम बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परम्परागत विधिबाट गरिने मौरी पालन ब्यवसायलाई विस्थापित गर्दै आधुनिकतातर्फ उन्मुख गराउँने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा गाउँपालिका भित्रका ४२ जना मौरी पालक कृषकहरुको सहभागिता रहेको छ । उनीहरुलाई मौरीको प्रकार, पालनका लागि उपयुक्त हावापानी, मह काढ्ने विधि, मैन बनाउने तरिका लगायतको विषयमा जानकारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ । तालिमको सहजिकरण बाली संरक्षण अधिकृत सिताराम अधिकारीले गरिरहनु भएको छ ।
तालिम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक बर्षमा १ लाख बजेट विनियोजन गरेको थियो । गत माघमा नै तालिम सञ्चालन गर्ने योजना बनाएपनि ३२ जना कृषकको मात्रै आबेदन परेकाले पछि सारिएको संयोजक बुढाथोकीले बताउँनुभयो । तालिमको सोमबार समापन हुने गाउँपालिकाले जनाएको छ ।