मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव

काठमाडौं । सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार सम्पन्न बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरुले व्यवस्था गर्ने भएका छन् ।

सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

बैठकमा विज्ञहरुलाई पनि बोलाएर सुझाव लिइएको र सबैका सुझावका आधारमा सिसिएमसीले अन्तिम प्रस्ताव तयार पारी मन्त्रिपरिषद बैठकमा पेश गरेपछि मात्र निर्णय हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।