बिहिबार, चैत्र २६, २०७७

१०० दिनको प्रधानमन्त्री रोजगार कार्यक्रम १६ दिनमै सीमित

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य हो- न्यूनतम एक सय दिन बेरोजगारहरुलाई रोजगारी उपलब्ध गराउने । २०७५ फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको १०० दिने कार्यक्रम विदेशी ऋण उपलब्ध नभएपछि आर्थिक वर्ष २०७६/७७ मा १६ दिनमै सीमित हुन पुगेको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘बिनियोजित रकममध्ये वैदेशिक श्रोतको रु २ अर्ब ६२ करोड रकम बिनियोजन भएकोमा उक्त श्रोतको रकम निकासा हुन नसकेका कारण नेपाल सरकारको श्रोतको रकम रु २ अर्ब ३० करोड ३२ लाख रकम ७ सय १ स्थानीय तहमा सशर्त अनुदानका रुपमा पठाइएको । उक्त रकमबाट १ लाख ५ हजार ६ सय ३४ जनालाई ४ हजार ३ सय २ आयोजनामा औसत १६ दिनको रोजगारी उपलब्ध गराइएको ।’

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम सञ्चालन गरी ६० हजार बेरोजगार व्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारी दिनका लागि ५ अर्ब एक करोड रकम विनियोजन भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । तर, कोरोना महामारी र ऋण प्राप्त नभए पछि प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिन नसकेको प्रष्ट देखिन्छ । याे समाचार न्युज २४ नेपालमा प्रकाशित छ ।

विदेशबाट ऋण नपाएपछि १०० दिनको प्रधानमन्त्री रोजगार कार्यक्रम १६ दिनमै सीमित ! (प्रतिवेदनसहित)